काठमाडौं– जेन्जीबाट पूर्वन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा खतरा भएर हो वा चोलेन्द्रबाट सरकारलाई खतरा भएर, भदौ १० गते मध्यराति १२ बजेतिर काठमाडौंको नारायणगोपाल चोकबाट अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अगाडि बढ्यो। ग्लोबल कलेजको गेट हुँदै भित्री गल्लीमा छिरेको टोली चढेको गाडी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेर रोकियो। सादा पोशाकका प्रहरीले गेट खोल्न भने। ड्युटीमा रहेका सशस्त्र प्रहरीले ‘मध्यरातमा निवासमा सबै सुतिसकेको’ बताएर ‘तपाईंहरू बिहान आउनुस्’ भने। तर मिसनमा गएको टोलीले मानेन र आफ्नो परिचय दिँदै भन्यो– ‘सम्माननीयज्यूलाई बोलाउनूस्।’
सशस्त्र प्रहरीका ती जवानले चोलेन्द्रशमशेर र उनका परिवारलाई खबर गरे। अनि गेट खोलेर टोलीलाई भित्र लगे। टोलभरि हल्लाखल्ला भयो। मस्त निद्रामा रहेको जबरा परिवार उठेर आएपछि प्रहरीसँग वादविवाद भयो।
जबराले आफूलाई मध्यरातमा किन नियन्त्रणमा लिन खोजेको भन्दै पक्राउ पुर्जी मागे। प्रहरीसँग पक्राउ पुर्जी थिएन। अनि उनीहरूले ‘तपाईंमाथि सुरक्षा चुनौती भएकाले आएको’ भन्न थाले। राणाले आफूलाई कुनै सुरक्षा चुनौती नभएको र सरकारलाई त्यस्तो लागेमा सुरक्षाकर्मी बढाइदिन अनुरोध गरे।
यतिमा रोकिएन। प्रहरीले प्रहरी कार्यालय गइदिन अनुरोध गर्न थाले। राणाले ठाडै अस्वीकार गरे। यो वादविवाद ३ बजेसम्म चल्यो। अन्त्यमा प्रहरीले ‘तपाईं प्रहरी कार्यालय गइदिनुस्, हामी पुर्याउन आउला, केही समस्या हुँदैन, सुरक्षा थ्रेट छ’ भन्दै जबरालाई महाराजगन्जस्थित घरबाट शनिबार राति ३ बजे उठाएर टेकुस्थित प्रहरी कार्यालय पुर्यायो।
बिहान ५ नबज्दै जबरा पक्राउ परेको सूचना चुहियो। यसरी मध्यरातमा पक्राउ परेका उनी आफूलाई के कारण पक्राउ गरियो भन्ने थाहा नपाउँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आइतबार दिउँसो रिहा भएर घर फर्किएका छन्।
प्रहरी कार्यालयमा आइतबार दिउँसो २ बजेसम्म राखेर उनलाई छोराको जिम्मा लगाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए।
नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानन्यायाधीश पक्राउ परेका हुन्। उनलाई पक्रन डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो।
चोलेन्द्रलाई प्रहरी कार्यालय लैजाँदा कुनै कागजात दिइएको थिएन।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का जबरालाई भौतिक आक्रमण हुन सक्ने सूचना आएपछि राति नै कार्यालयमा ल्याउनुपरेको बताउँछन्। उनले भने, ‘हामीसँगै राख्दा सुरक्षित हुनुहुन्छ भन्दै लिएर आएका हौँ।’
पूर्वप्रधानन्यायाधीशलाई कस्ता मुद्दामा पक्राउ गर्न मिल्छ? कस्ता मुद्दामा मिल्दैन? भनेर प्रहरी जानकार नै रहेको तर्क जबरा रिहा हुनुअघि उनले गरेका थिए।
न्यायाधीशहरूलाई पक्राउ गर्ने कानुन पनि छैन भन्ने थाहा भए पनि सुरक्षाका लागि ल्याइएको प्रहरीको दाबी रह्यो। रोचक त के छ भने, यतिबेलासम्म प्रहरीले चोलेन्द्रलाई भौतिक आक्रमणको धम्की दिने को थियो भनेर खुलाउन सकेको छैन।
प्रहरीको तर्क अझ गजबको छ। पक्राउ गर्नुअघि घरमा सुरक्षा दिन नमिल्ने भनिएकोमा रिहा भएपछि भने घरमै सुरक्षा बढाउने बताइयो। एसएसपी खड्काले अब जबराका लागि घरमै सुरक्षा बढाइने बताए।
गृहमन्त्री र आईजीपीबीच भएको थियो खासखुस र बेमेल
शनिबार नै गृहमन्त्री सुधन गुरुङ र आईजीपी दानबहादुर कार्कीबीच जबराको पक्राउबारे छलफल भएको थियो। उक्त छलफलमा आईजीपीले पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नुअघि आरोप र प्रमाणहरू बलियो चाहिने भन्दै यसरी पक्राउ गर्न मिल्दैन भनी सुझाएका थिए। तर गृहमन्त्री गुरुङले आफूूमाथि दबाब रहेको मात्र भनिरहे। त्यसपछि उनलाई पक्राउ गर्ने सर्कुलर प्रहरी कार्यालयमा गयो।
पक्राउसँगै एक तीरमा तीन सिकारको रणनीति
जबरालाई प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरेको प्रहरीको उच्च स्रोतको दाबी छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले यही घटनाबाट तीन सिकार गरेको देखिन्छ। पहिलो, रास्वपाभित्रकै सभापति रवि लामिछानेलाई थ्रेटमा राख्न खोज्नु; दोस्रो, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई त्रास; र तेस्रो भनेको न्यायालयलाई नै थ्रेट दिने थियो।
चौतर्फी विरोध
पूर्वप्रधानन्यायाधीशलाई अकारण पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले जबरालाई पूर्वसूचनाबिना मध्यराति महाराजगन्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याएर सोधपुछ गरेको समाचार चिन्ताजनक भएको बताए। कुनै फौजदारी मुद्दामा पक्राउ नगरिएको प्रहरीको भनाइ र पर्याप्त कानुनी आधार नभई यो गरिएको उनको तर्क छ।
‘प्रहरीले ‘सेक्युरिटी थ्रेट’ अर्थात् सुरक्षा खतरालाई कारण बताएको छ भने त्यो खतरा वास्तवमा के थियो भन्ने स्पष्ट गरेको छैन। त्यस्तै, प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने योजना नभएको बताइसकेपछि यो सम्पूर्ण प्रक्रियाको अर्थ के हो?’ उनले भने, ‘झन् अस्पष्ट छ। सुरक्षा खतरा वास्तवमै के थियो? घरमै सुरक्षा व्यवस्था थप्नुको सट्टा किन मध्यरातमा प्रहरी कार्यालय लैजानु पर्यो? यसको स्पष्ट जवाफ प्रहरीले दिनुपर्छ।’
चिन्ताको मुख्य विषय कारबाहीको तरिका र त्यसबाट जाने सन्देश भन्दै उनले पर्याप्त कानुनी आधारबिना दबाब, भय वा प्रतिशोधको उद्देश्यले यस्तो गरिएको हो भने त्यसले बहालवाला न्यायाधीशहरूमा समेत सरकार वा राज्यसत्ताको प्रतिकूल निर्णय गर्दा भविष्यमा राज्य संयन्त्र प्रयोग हुन सक्छ भन्ने भय पैदा गर्न सक्ने बताए।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले जबराको पक्राउले प्रश्नै प्रश्नमात्र उठाएको प्रतिक्रिया दिए। ‘किन भन्ने प्रश्नहरू छन्। त्यसो किन गरियो, थाहा छैन। फेरि त्यसो किन गरियो, त्यो पनि थाहा छैन। त्यसो गर्नुको तार्किक कारण के हो भन्ने पनि थाहा छैन। थाहा नपाउनुको कारण पनि थाहा छैन,’ उनले भने, ‘न इतिहासका आधारमा थाहा पाउन सकियो, न त अरू कुनै अभ्यासबाट थाहा सम्बन्धी प्रश्नको जवाफ भेटियो। परिणामतः थाहा निरञ्जन निराकार अथाहामा परिणत हुन पुगेको जस्तो भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।