राजेश्वर नेपाली। पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम। नेपालीजी कुनै परिचयको मोहताज छैनन्। नाम नै उनको परिचय हो। सादा जीवन, उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन्। नेपालीजीका सम्बन्धमा जति र जे लेखिए पनि कमै हुनेछ। तिनै नेपालीजीको चौथो वार्षिक पुण्यतिथिका सन्दर्भमा उनलाई स्मरण गर्नु उचित हुनेछ। चार वर्षअघि २०८० (२०२३) भदौ ११ मा उनले यो धर्ती त्याग गरेका थिए। संयोग नै मान्नुपर्छ, यही महिना उनको जन्मजयन्ती पनि हो। वि.सं. २००१ (सन् १९४४) भदौ १९ का दिन यस धरामा पदार्पण गरेका नेपालीजीले धरा त्यागका लागि पनि भदौ महिना नै रोजे।
नेपालीजीलाई मैले जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा अध्ययन गर्दादेखि नै चिन्दथेँ। जुनबेला म प्रवीणता प्रमाणपत्र तह (वि.सं. २०४२/४४) को विद्यार्थी थिएँ, त्यही बेलादेखि म उनको सम्पर्कमा थिएँ। यस दृष्टिले हेर्ने हो भने उनीसँगको मेरो सम्पर्कको चार दशक बितिसकेछ। म जुनबेला उनको सम्पर्कमा आएँ, त्यो समय मेरा लागि पत्रकारिता जीवनको अत्यन्त प्रारम्भिक समय थियो, तर नेपालीजी त्यसबेलासम्म पत्रकारिता जगत्मा सुविख्यात भइसकेका थिए। त्यो समय शायद पत्रकारिताका दृष्टिले उनको उत्कर्षको समय थियो भनेर भनियो भने अनुचित हुने छैन।
म पत्रकारितामा आबद्ध भइसकेपछि, शायद २०४४ सालको कुनै दिन हुनुपर्छ, मैले नेपालीजीसँग पत्रकारिताका सन्दर्भमा कुराकानी गर्न औपचारिक रूपमा भेट गरेको थिएँ र त्यसपछि भेटघाटको यो क्रमले तीव्रता पायो। उनी र म निकट थियौँ। निकट हुनुपर्ने अर्को महत्त्वपूर्ण कारण थियो–वैचारिक र राजनीतिक। नेपालीजी र म एकै प्रकारको विचार र राजनीतिक दर्शनबाट प्रेरित थियौँ। एक दृष्टिले भन्ने हो भने स्थानीय स्तरमा नेपालीजी मेरा एक ‘रोल मोडल’ थिए/हुन्।
पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिलेदेखि नै उनका सम्बन्धमा धेरै कुरा सुनेको थिएँ–दृढ विचार, वाक्पटु, स्पष्टवक्ता, जानकारीका भण्डार, अनुसन्धानकर्मी, साहित्यिक चेत आदिआदि। पछि त उनीसँग बारम्बार भेट भइरह्यो। निश्चय पनि कतै न कतै मलाई उनको योगदानले प्रभावित गरेको थियो र यो प्रभावले पनि पत्रकारितामा प्रवेश गर्न मलाई प्रोत्साहित गरेको थियो भन्दा अनुचित हुँदैन।
मलाई लाभ थियो, नेपालीजी र म एउटै नगर अर्थात् जनकपुरकै वासिन्दा थियौँ। त्यसैले उनीसँगको सान्निध्य प्राप्त गर्न मलाई सहज भयो। यो मेरो सौभाग्य थियो। म जनकपुरमै रहेर वि.सं. २०४३ देखि २०५२ सम्म पत्रकारितामा सक्रिय थिएँ। यो त्यो समय थियो, जुनबेला नेपालीजीसँग करिबकरिब प्रत्येक दिनजसो भेट हुन्थ्यो। अधिकांशतः जनकचोकस्थित दीपनारायणजीको पत्रिका पसलमा। क्याम्पसबाट फर्कँदै गर्दा साइकलसवार नेपालीजीसँग मेरो भेट प्रायः त्यहीँ हुन्थ्यो। त्यहाँ भेट भएन भने जानकी मन्दिरको प्राङ्गण हाम्रो भेटघाटको अर्को निश्चित स्थान थियो। भेटमा अनेक कुरा हुन्थे। केही राजनीतिका, केही साहित्यका र केही पत्रकारिताका। निश्चय ती कुराकानीले मेरा लागि मार्गदर्शन र प्रोत्साहनको काम गर्थे।
२०५२ सालमा म पेसा र रोजगारीका क्रममा काठमाडौं आएँ र त्यसपछि मेरो बढी समय यतै बित्न थाल्यो। स्वाभाविक रूपमा नेपालीजीसँग प्रत्यक्ष भेटघाटको क्रम पनि पातलियो, तर अप्रत्यक्ष रूपमा हामी सधैँ नै सम्पर्कमै रह्यौँ। उनीसँगको सान्निध्यका आधारमा म दाबीपूर्वक भन्न सक्छु, नेपालीजी पत्रकार, साहित्यकार, राजनीतिकर्मी र सामाजिक अभियन्ता थिए।
नेपालीजीसँग मेरो सम्बन्ध पत्रकारितासम्म मात्र सीमित थिएन। उनीसँग म साहित्य र राजनीतिक रूपमा पनि सम्बन्धित छु भनियो भने असंगत हुने छैन। यी तीनै सम्बन्धका आधारमा हाम्रो सम्बन्धको विश्लेषणको प्रयत्न गरियो भने म निःसंकोच भन्न सक्छु कि नेपालीजी मेरो आदरणीय अभिभावक थिए र प्रेरणाको एक सशक्त स्रोत पनि।
मैले माथि पनि भनिसकेँ, नेपालीजीसँग म अत्यधिक प्रभावित थिएँ/छु। उनीसँग सम्बन्धित अनेक स्मृति मेरो मानसपटलमा अहिले दगुरिरहेका छन्। कुन लेख्नु, कुन नलेख्नु? सबै स्मृतिलाई यहाँ शब्दमा उतार्नु सम्भव हुन सक्दैन।
उनीसँग म प्रभावित हुनुपर्ने अनेक कारण छन्। सबैभन्दा पहिले त म उनको सादगीपूर्ण जीवन र पत्रकारिताप्रतिको अविभाज्य समर्पणबाट प्रभावित छु। मधेशबाट पत्रकारिता गर्ने र पत्रकारिताकै माध्यमबाट मिशन र जीवन निर्वाहको प्रयत्न गर्नेमध्ये नेपालीजी पहिलो पुस्ताका प्रखर र सशक्त पत्रकार थिए। पत्रकारिताका माध्यमबाट समाज रूपान्तरणमा उनको योगदान अत्यन्त महत्त्वपूर्ण छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा के भने उनको योगदानलाई सर्वत्र स्वीकार गर्ने गरिएको छ।
जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’ का रूपमा चिनिन्छन्। मैथिलीका अतिरिक्त नेपाली र हिन्दीका सिद्धहस्त लेखक, साहित्यकार, पत्रकारको चिनारी बनाएका नेपालीजी भारतमा र हिन्दी साहित्यका क्षेत्रमा पनि उत्तिकै चिनिन्छन्।
शायद धेरैलाई उनको पूरा नाम थाहा नहुन सक्छ, तर ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र नेपालभन्दा बाहिर पनि स्वीकृत थिए। माथि पनि चर्चा गरियो, नेपाली, मैथिली र हिन्दीमा समान अधिकार राख्ने नेपालीजी यी तीनवटै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील थिए। तीनै भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत) का स्रष्टा नेपालीजीले समाज रूपान्तरणका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए, तर उनको समर्पण र मूल परिचय भने पत्रकारिता नै हो।
महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित नेपालीजी गान्धीवादीका रूपमा चिनिन्थे। उनी गान्धी दर्शनबाटै प्रभावित भएर समाज र राजनीतिमा पनि निर्देशित थिए। राजनीतिमा पनि उनको पृथक परिचय थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनबाटै सक्रिय नेपालीजी प्रखर लोकतन्त्रवादीका रूपमा पनि चिनिन्थे। लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा अनेकौँ पटक प्रशासनको कुदृष्टिको सिकार बनेका नेपालीजीले लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध कहिल्यै सम्झौता गरेनन्। उनी आजीवन आफ्नो आस्था र विचारमा अटल र दृढ रहे।
नेपालीजीलाई म मधेश–मिथिला ‘इन्साक्लोपिडिया (विश्वकोष)’ का रूपमा पनि चिन्थेँ। मधेश र मिथिलासँग सम्बन्धित अनेक जानकारीको विशाल सङ्ग्रह थियो उनीसँग। अनेक जानकारी त उनलाई मुखाग्र नै याद थियो। धेरैजसो जानकारीका औपचारिक सङ्ग्रहकर्ता थिए उनी। जानकारीको विशाल अभिलेखीकरणको भण्डार थियो उनीसँग। जीवित छँदा, चाहे त्यो राजनीति होस्, चाहे साहित्य वा पत्रकारिता, सबैसँग सम्बन्धित जीवित दस्तावेज मानिन्थे उनी। उनी समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि अजस्र स्रोत थिए। निश्चय उनीसँग भएको जानकारी र दस्तावेज अनेक अनुसन्धानकर्मीका लागि स्रोत सामग्रीका रूपमा उपयोगी हुन सक्छ। उनको जीवनकालमा उनीसँग रहेका यस्तै स्रोत सामग्रीको लाभ अनेक व्यक्तिले लिएका थिए। मलाई भन्न कुनै संकोच छैन, यस्तै एकजना लाभग्राही म पनि हुँ।
मेरो प्रस्ताव छ–नेपालीजीसँग रहेका यी अजस्र जानकारीको लाभ सम्पूर्ण समाज र राज्यले लिन सक्नुपर्छ। उनीसँग रहेका ऐतिहासिक सामग्रीको संरक्षणको दायित्व राज्यले निर्वाह गर्नु आवश्यक छ। यसबाट निश्चित रूपमा भावी पुस्ता लाभान्वित हुन सक्नेछन्।
अन्तमा, एउटा कुराको दुःख समाजलाई सधैँ रहनेछ, त्यो के भने नेपालीजीको योगदानको कदर राज्यले कहिल्यै गरेन। उनले समाजका लागि पुर्याएको योगदानको मूल्य तिर्नु कसैका लागि पनि सम्भव हुने छैन। तर उनको योगदानको मूल्याङ्कन सम्बन्धित निकायद्वारा निश्चित रूपमा हुनु अपरिहार्य छ।
नेपालीजीप्रति सादर श्रद्धाञ्जली।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।