काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा रक्षामन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भएको भेटमा सिग्देलको हालै सम्पन्न चीन भ्रमणबारे जानकारी लिइएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।
उनका अनुसार चीनको औपचारिक भ्रमणबाट फर्किएपछि प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री शाहलाई भ्रमणका क्रममा भएका गतिविधि तथा भेटघाटबारे ब्रिफिङ गरेका हुन्।
सैनिक प्रवक्ता बस्नेतले प्रधानमन्त्रीको अमेरिका भ्रमणसँग जोडेर भेटलाई विशेष अर्थमा लिन नहुने बताए। उनका अनुसार प्रधानमन्त्री नै रक्षामन्त्रीसमेत रहेकाले प्रधानमन्त्री र प्रधानसेनापतिबीच यस्ता भेटघाट नियमित रूपमा हुने गर्छन्।
‘प्रधानमन्त्रीज्यू नै रक्षामन्त्री पनि भएकाले यस्ता भेटघाट नियमित हुने गर्छन्,’ बस्नेतले भने।
उनले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभा सहभागितासँग प्रधानसेनापतिसँगको भेटको कुनै विशेष सम्बन्ध नरहेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।