काठमाडौं– तिहारमा देउसी–भैलो खेल्ने समयको सीमा हटेको छ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएको हो । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्दै तिहार हर्षोल्लासपूर्वक मनाउने वातावरण बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।
मन्त्रालयको निर्देशनअनुसार अब देउसी–भैलो कार्यक्रम सञ्चालनका लागि रातिको निश्चित समयसीमा तोकिने छैन । तर, चौबिसै घण्टा कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था भए पनि त्यसलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउनुपर्नेछ ।
देउसी–भैलो स्वेच्छिक, दक्षिणाका लागि दबाब दिन नपाइने
गृह मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने स्पष्ट पारेको छ । कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने निर्देशनमा उल्लेख छ ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोग गर्न नदिन पनि प्रशासनलाई भनिएको छ ।
जुवातास र मदिराजन्य गतिविधिमा निगरानी
चाडपर्वको नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
त्यसैगरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न भनिएको छ । अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा देउसी–भैलो खेल्दा विशेष सावधानी अपनाउनुपर्नेछ ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन तथा जथाभावी फोहोरमैला नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
देउसी–भैलो वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ ।
मन्त्रालयले यसअघि चाडपर्वलाई लक्षित गरी जारी गरेका सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्देशनको समेत पूर्ण पालना गर्न स्मरण गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।