नेपाली राजनीतिक वृत्त होस् कि न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा प्रहरी प्रशासनलगायत राज्यका जिम्मेवार निकाय, बेलाबेला बिचौलिया, दलाल र स्वार्थ समूहहरूको साँठगाँठको आशंकाले तरंगित भइरहेका हुन्छन्। यस्ता गतिविधिले केवल सम्बन्धित व्यक्ति वा संस्थाको प्रतिष्ठामाथि मात्र प्रश्न उठाउँदैनन्, समग्र राज्य संयन्त्रप्रतिको जनविश्वासलाई समेत कमजोर बनाइरहेका हुन्छन्। विगतमा कमजोर राज्यसत्ता र कर्मचारी वृत्तभित्रको दरिद्र मानसिकताका कारण बिचौलिया र दलालहरूले राज्य प्रणालीमाथि हस्तक्षेप र नियन्त्रण गरिरहेका थिए।
बिचौलियाको पहुँच, प्रभाव र शक्तिकेन्द्रसँगको साँठगाँठ किन हुन्छ? यो प्रश्नले तपाईं–हामी जोकोहीलाई झस्काउँछ र क्रोधित बनाउँछ। आफूलाई अब्बल र बहादुर देखाउन खोज्ने शक्तिशाली व्यक्तिहरूबीच साँठगाँठ किन हुन्छ?
बिचौलिया र दलाल प्रवृत्तिका व्यक्तिहरूको कार्यशैली नियाल्दा उनीहरूको सम्बन्ध स्वाभाविक रूपमा राजनीतिक वृत्त, ठूला नेता, प्रशासनिक नेतृत्व र राज्यका शक्तिकेन्द्रसम्म विस्तार भएको देखिन्छ। आखिर, उनीहरू किन आफ्नो निजी सम्पर्क सञ्जाललाई राज्यको पहुँचसम्म पुर्याउन चाहन्छन्? यसका पछाडि आर्थिक स्वार्थ, नीतिगत प्रभाव, काम मिलाउने मध्यस्थता र सम्भावित संरक्षणको अपेक्षा लुकेको हुन सक्छ। इनम सापकोटा र दीपक भट्टसँग जोडिएका पछिल्ला प्रकरणले यही विषयलाई सार्वजनिक बहसमा ल्याएका छन्। यद्यपि, सार्वजनिक आरोप र अनुसन्धानका विवरणलाई अन्तिम प्रमाण मान्न मिल्दैन। तर एउटा गम्भीर प्रश्न अवश्य उठ्छ—राज्यको उच्च तहसम्म बिचौलियाको पहुँच कसरी स्थापित हुन्छ र त्यस्तो पहुँचबाट कसले के लाभ लिइरहेको हुन्छ?
राजनीतिज्ञ र उच्चपदस्थ अधिकारीहरूले आफ्नो सम्पर्क, भेटघाट र निर्णय प्रक्रियालाई पारदर्शी बनाउन नसके यस्ता सञ्जालले संस्थागत विश्वसनीयतामाथि प्रश्न उठाइरहनेछन्। पदको गरिमा र राष्ट्रको हित व्यक्तिगत सम्बन्धभन्दा माथि हुनुपर्छ।
प्रशासनिक तथा कर्मचारी वृत्तभित्र पनि कोही व्यक्तिगत स्वार्थ र आर्थिक लाभका लागि सेटिङ मिलाउन भौँतारिरहेका हुन्छन् भने कोही प्रत्यक्ष रूपमा नदेखिए पनि अदृश्य रूपमा त्यसका हिस्सेदार बनिरहेका हुन्छन्। कतिपय कर्मचारी आफ्नो पद, पहुँच र जिम्मेवारीलाई सेवाभन्दा स्वार्थपूर्तिको माध्यम बनाउँछन्। कोही आफ्नो कर्तव्य र जिम्मेवारीप्रति दत्तचित्त हुँदाहुँदै पनि लाभको सञ्जालमा जोडिन बाध्य हुन्छन्। तर वास्तविक इमानदारी भनेको प्रलोभनबाट टाढा रहेर आफ्नो कर्तव्य र संस्थाको गरिमा जोगाउनु हो।
समग्रमा, कोही प्रत्यक्ष रूपमा स्वार्थ जोडेर अनुचित आर्थिक लाभ लिइरहेका हुन्छन् भने कोही भेटघाट, बैठक र सम्पर्कमा सहभागी भए पनि त्यसको वास्तविक उद्देश्य, परिणाम र लाभको हिस्सेदार बन्ने विषयबाट आफूलाई अलग राख्न खोजिरहेका हुन्छन्। कतिपयले गलत भइरहेको थाहा पाएर पनि त्यसको प्रतिवाद गर्ने साहस गर्दैनन्। न त वास्तविकता सार्वजनिक गर्न सक्छन्, न त त्यसबाट पूर्ण रूपमा अलग हुन नै।
अझ कतिपय अवस्थामा नियोजित ढंगबाट मानिसहरूलाई यस्तो सञ्जालसँग जोडिएको देखाउने, उनीहरूको नाम प्रयोग गर्ने वा विभिन्न गतिविधिमा संलग्न भएको भाष्य निर्माण गर्ने प्रयाससमेत हुन सक्छ।
वास्तविक सहभागिता, सहमति र लाभको हिस्सेदारी नभएको अवस्थामा पनि नाम जोडिनु आफैँमा गम्भीर विषय हो। त्यसैले कसैको नाम चर्चामा आउनु र कसैको संलग्नता प्रमाणित हुनु एउटै कुरा होइन भन्ने तथ्य पनि बिर्सनु हुँदैन।
तर एउटा यथार्थ के हो भने अनुचित आर्थिक लाभ, अदृश्य लेनदेन र स्वार्थको सम्बन्ध सधैँ गोप्य रहन्छ भन्ने हुँदैन। आज गरिएको भेटघाट, बैठक, संवाद वा आर्थिक कारोबार भोलि कुनै न कुनै माध्यमबाट सार्वजनिक हुन सक्छ। प्रविधिको विकाससँगै आजका गतिविधिका डिजिटल अभिलेख र प्रमाण विभिन्न रूपमा सुरक्षित रहन सक्छन्। त्यसैले पद, पहुँच र प्रभावको आडमा गरिने कुनै पनि अदृश्य मोलमोलाइ सधैँका लागि पर्दाभित्रै रहन्छ भन्ने भ्रम पाल्नु हुँदैन।
अहिले विभिन्न समाचार, सार्वजनिक बहस र अनुसन्धानका विषयलाई नियाल्दा केही उच्च ओहोदामा रहेका व्यक्तिहरू गम्भीर नैतिक, कानुनी र मानसिक दबाबमा पर्न सक्ने अवस्था देखिन्छ। विगतमा पनि यस्ता घटनाले दुःखद परिणाम निम्त्याएका उदाहरण छन्। त्यसैले अनुसन्धानको निष्पक्षता, सत्यतथ्यको सार्वजनिकता र आरोपित व्यक्तिहरूको न्यायिक अधिकारसँगै उनीहरूको मानसिक तथा मानवीय अवस्थाप्रति पनि संवेदनशील हुन आवश्यक छ।
राज्यको जिम्मेवार पदमा पुग्नु भनेको केवल अधिकार, प्रतिष्ठा र सुविधा प्राप्त गर्नु होइन। त्यो पदसँग जोडिएको सबैभन्दा ठूलो दायित्व राष्ट्रप्रतिको इमानदारी, जनताप्रतिको जवाफदेहिता र आफ्नो चरित्रप्रतिको जिम्मेवारी हो।
उच्च ओहोदामा पुग्ने व्यक्तिले आफ्नो पद, प्रतिष्ठा र अधिकारको मात्र होइन, त्यससँग जोडिएको परिवारको सम्मान, समाजको विश्वास र आफ्नो व्यक्तिगत छविप्रतिको जिम्मेवारी पनि उत्तिकै गम्भीरतापूर्वक बुझ्नुपर्छ। व्यक्तिगत स्वार्थ, आर्थिक प्रलोभन र क्षणिक लाभका लागि गरिने गलत निर्णयको असर आफूमा मात्र सीमित रहँदैन। त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष पीडा परिवार, आफन्त र समाजले समेत भोग्नुपर्ने हुन्छ। एउटा व्यक्तिको गलत कर्मले वर्षौँ लगाएर निर्माण गरेको पारिवारिक प्रतिष्ठा र सामाजिक सम्मान क्षणभरमै कमजोर बनाउन सक्छ। त्यसैले पदमा रहँदा मात्र होइन, पदबाट बाहिरिँदा पनि शिर उँचो राख्न सक्ने गरी आफ्नो नैतिकता, कर्तव्य, इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारीलाई सर्वोपरि राखौँ।
समयमै सचेत बनौँ। स्वार्थको सञ्जालमा नजोडिऔँ। गलत गतिविधिको मौन साक्षी बनेर त्यसलाई संरक्षण नगरौँ। किनकि पद अस्थायी हुन्छ, पहुँच परिवर्तनशील हुन्छ र शक्तिको आयु पनि सधैँ रहँदैन। तर आफ्नो कर्मको जवाफदेहिता र त्यसले छोड्ने प्रभाव लामो समयसम्म रहिरहन्छ।
अन्ततः देशको वर्तमान अवस्था सुधार्न बिचौलिया र स्वार्थकेन्द्रित सञ्जालको प्रभाव अन्त्य गर्नु अपरिहार्य छ। राज्यका जिम्मेवार निकायले यस्ता गतिविधिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र निर्दोषको प्रतिष्ठा तथा अधिकारको संरक्षण गर्नुपर्छ। उच्च ओहोदामा बसेका नेता, कर्मचारी र प्रशासनिक अधिकारीले आफ्नो पद, पहुँच र अधिकारलाई व्यक्तिगत लाभको माध्यम होइन, जनताको सेवा र राष्ट्र निर्माणको जिम्मेवारीका रूपमा लिनुपर्छ। राज्यले निर्णय प्रक्रियालाई पारदर्शी बनाउने, सम्पत्तिको वैधानिकता जाँच्ने, जवाफदेहिता सुनिश्चित गर्ने र राजनीतिक तथा प्रशासनिक संरक्षणको सम्भावना अन्त्य गर्ने ठोस कदम चाल्नुपर्छ। किनकि राष्ट्रको भविष्य केही व्यक्तिको स्वार्थले होइन, इमानदार नेतृत्व, जिम्मेवार प्रशासन र बलियो कानुनी शासनले निर्धारण गर्छ। देशभन्दा ठूलो पद हुँदैन, कानुनभन्दा माथि कोही हुँदैन र राष्ट्रको हितभन्दा ठूलो व्यक्तिगत स्वार्थ हुन सक्दैन। आफ्नो पदको गरिमा जोगाऔँ, संस्थाको विश्वसनीयता कायम राखौँ।
देशभन्दा ठूलो कुनै पद हुँदैन, विधिभन्दा माथि कोही हुँदैन र सत्यभन्दा शक्तिशाली कुनै आवरण हुँदैन। तसर्थ, तत्काल अदृश्यजस्तो देखिने साँठगाँठको जालोमा रमाएर पदको निर्मम दुरुपयोग नगरौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।