



संयुक्त राज्य अमेरिकाका ४४औँ राष्ट्रपति बराक ओबामाका पिता केन्याको कानियाङ्गो गाउँबाट अर्थशास्त्र अध्ययनका लागि सन् १९५९ मा अमेरिका गएका थिए। पछि उनले केन्या सरकारका वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरे। तिनै केन्याली पिताका छोरा ओबामाले सन् २००९ देखि २०१७ सम्म दुई कार्यकाल अमेरिकाको राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले। उनी अमेरिकी इतिहासमा राष्ट्रपति बन्ने पहिलो अफ्रिकी–अमेरिकीसमेत हुन्।
अमेरिकाकी ४९औँ उपराष्ट्रपति कमला ह्यारिसका पिता डोनाल्ड जे। ह्यारिस जमैकाबाट सन् १९६१ मा उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए। उनकी आमा श्यामला गोपालन भारतको तमिलनाडु राज्यको चेन्नई ९त्यतिबेलाको मद्रास० बाट सन् १९५८ मा अमेरिका गएकी थिइन्।
यसरी भारतीय आमा र जमैकन बाबुकी छोरी कमला ह्यारिसले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको पदमा चुनावसमेत लडेकी थिइन्।
विश्वप्रसिद्ध अर्थशास्त्री तथा बैंकर र वर्तमान क्यानडाका प्रधानमन्त्री मार्क कार्नी कुनै समय बेलायतको केन्द्रीय बैंकका गभर्नर थिए। सन् २०१३ देखि २०२० सम्म उनी उक्त बैंकका गभर्नर रहे। बेलायतको केन्द्रीय बैंकको तीन सय वर्षभन्दा लामो इतिहासमा पहिलोपटक कुनै विदेशी नागरिकलाई गभर्नर बनाइएको थियो।
बेलायत युरोपेली सङ्घबाट अलग्गिने क्रममा उत्पन्न आर्थिक उतारचढाव र सङ्कट व्यवस्थापन गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। बेलायतमा काम गर्दा उनले बेलायती नागरिकतासमेत प्राप्त गरेका थिए। क्यानडाको राजनीतिमा पूर्ण रूपमा सक्रिय हुनुअघि उनीसँग क्यानडा, बेलायत र आयरल्यान्डको नागरिकता थियो।
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका भारतीय मूलका पञ्जाबी हुन्। पूर्वप्रधानमन्त्री सुनकका पिता यशवीर सुनकको जन्म पूर्वी अफ्रिकाको केन्यामा भएको थियो भने आमा उषा सुनकको जन्म तान्जानियामा भएको थियो।
ऋषि सुनकका हजुरबुबा–हजुरआमाहरू मूलतः भारतको पञ्जाब क्षेत्रबाट पूर्वी अफ्रिका बसाइँ सरेका थिए। पछि सन् १९६० को दशकमा उनका बाबुआमाको परिवार पूर्वी अफ्रिकाबाट बेलायत आएको थियो। त्यहीँ उनीहरूबीच भेट भई विवाह भएको थियो। यसर्थ, ऋषि सुनकका बाबुआमा पूर्वी अफ्रिका अर्थात् केन्या र तान्जानियामा जन्मिएका भारतीय मूलका बेलायती नागरिक हुन्।
बेलायतकै अर्का पूर्वप्रधानमन्त्री बोरिस जोन्सन अमेरिकाको न्युयोर्कमा जन्मिएका हुन्। अमेरिकामा जन्मिएका जोन्सन पछि बेलायत फर्किएर पत्रकारितामा लागे र अन्ततः बेलायतको प्रधानमन्त्री पदसम्म पुगे।
विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्ला, अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्स र सामाजिक सञ्जाल एक्सका सञ्चालक इलोन मस्क दक्षिण अफ्रिकामा जन्मिएका हुन्। पृथ्वीका सबैभन्दा धनी व्यक्तिमध्ये एक मस्क दक्षिण अफ्रिकामा जन्मिएर सुरुमा क्यानडा र पछि अमेरिका बसाइँ सरेका थिए। आज उनी विश्वका सबैभन्दा धनी र प्रभावशाली उद्यमीमध्ये एक हुन्।
ताइवानमा जन्मिएर अमेरिका पुगेका इन्भिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको कम्पनी कृत्रिम बौद्धिकता र चिप निर्माणको क्षेत्रमा विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक बनेको छ।
भारतमा जन्मिएका सत्य नाडेला र सुन्दर पिचाई क्रमशः माइक्रोसफ्ट र गुगलका प्रमुख कार्यकारी अधिकृत हुन्। भारतमा जन्मिएर उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका यी दुवै जनाले विश्वका दुई ठूला प्रविधि कम्पनीको नेतृत्व गरिरहेका छन्।
इरानमा जन्मिएका दारा खोस्रोशाही शरणार्थीका रूपमा परिवारसँगै अमेरिका पुगेका थिए। पछि उनले प्रविधि तथा यातायातको विश्वप्रसिद्ध कम्पनी उबरको नेतृत्व सम्हाले।
अझै अलि अघिको इतिहासतर्फ फर्केर हेर्ने हो भने इटाली नजिकैको कर्सिका टापुमा जन्मिएका नेपोलियन बोनापार्ट पछि फ्रान्स पुगे, सेनामा प्रवेश गरे र आफ्नै क्षमताका बलमा फ्रान्सको सर्वोच्च शासक बने। उनी युरोपको इतिहास बदल्ने सम्राटका रूपमा स्थापित भए।
जोर्जियामा जन्मिएका जोर्जियाली मूलका जोसेफ स्टालिन सोभियत सङ्घका सर्वोच्च नेता तथा तानाशाह बने। उनले तत्कालीन सोभियत सङ्घमा कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै दशकौँसम्म शासन गरे।
अमेरिकाका संस्थापक पितामध्येका एक तथा पहिलो अर्थमन्त्री अलेक्ज्याण्डर ह्यामिल्टन क्यारिबियन टापु समूहको नेभिसमा जन्मिएका थिए। पछि उनी अमेरिका बसाइँ सरे र त्यहाँको आधुनिक वित्तीय तथा आर्थिक प्रणाली निर्माण गर्नुका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेले।
अब फर्कौं नेपालतिर।
केही समयअघि आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरियो। त्यसयता आनी नेपाली नागरिक नभएको भन्दै केही व्यक्ति तथा समूहले उनको नियुक्ति बदर हुनुपर्ने माग राख्दै विरोध गरिरहेका छन्।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। यो हाम्रो पहिचान र गौरव मात्र होइन, विश्वभरका बौद्धमार्गीको साझा आस्थाको केन्द्र पनि हो। विश्वमा बौद्ध धर्म मान्नेहरूको जनसङ्ख्या अनुमानित ३२ करोडदेखि ५० करोडसम्म रहेको छ। यो कुल विश्व जनसङ्ख्याको लगभग चारदेखि छ प्रतिशत हो।
पछिल्ला अध्ययनअनुसार विश्वमा औपचारिक रूपमा बौद्ध धर्म मान्नेहरूको सङ्ख्या लगभग ३२ करोड ४० लाख रहेको अनुमान छ। तर चीन, जापान र भियतनामजस्ता पूर्वी एसियाली देशहरूमा मानिसहरूले बौद्ध धर्मसँगै कन्फ्युसियसवाद, ताओवाद र सिन्तोजस्ता एकभन्दा बढी धार्मिक तथा सांस्कृतिक परम्परा अपनाउने भएकाले सांस्कृतिक रूपमा बौद्ध धर्म पालना गर्नेहरूलाई समेत जोड्दा यो सङ्ख्या ५० करोडभन्दा बढी हुन आउँछ।
तसर्थ, लुम्बिनी हाम्रो मात्र चासोको विषय होइन। लुम्बिनी र बौद्ध धर्मको उज्यालो संसारभर फैलाउन सहयोग पुर्याउनु हाम्रो दायित्व र कर्तव्य हो। साथै, बौद्ध धर्म अँगाल्ने र यसलाई विश्वभर फैलाउने दायित्व हामीसँगसँगै संसारभरका बौद्धमार्गीको पनि हो।
अन्त्यमा, पुनः आनी छोइङ डोल्मालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विषयतर्फ नै फर्कौं। त्यसयता उनका बारेमा बजारमा अनेकौँ समाचार आएका छन्। नियुक्त भएयता केही मानिसले आनी नेपाली नागरिक नभएको भन्दै बजारमा हल्ला फैलाइरहेका छन्। गायिकाका रूपमा समेत परिचित आनीले ठूलै अपराध गरेझैँ गरी विरोध भइरहेको छ।
कतिपयको तर्क हुन सक्छ, लुम्बिनी विकास कोषको पदाधिकारी हुन नेपाली नागरिक नै हुनुपर्छ। तर प्रश्न यस्तो पनि गर्न सकिन्छ—अरू देशका नागरिकलाई जिम्मेवारी दिँदा लुम्बिनीको के बिग्रिन्छरु जबकि लुम्बिनीमा नेपालभन्दा अन्य देशले समेत निर्माण तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन्।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको खोज, अनुसन्धान र योजनाबद्ध विकासमा धेरै विदेशी विद्वान्, पुरातत्त्वविद् तथा कूटनीतिज्ञहरूले ऐतिहासिक योगदान दिएका छन्।
सन् १८९६ मा पाल्पाका बडाहाकिम खड्गशमशेर राणासँगै जर्मनीका डा। एलोइस एन्टोन फ्युहररले लुम्बिनीमा अशोक स्तम्भको उत्खनन गरी पुनः पत्ता लगाएका थिए। स्तम्भमा कुँदिएको ब्राह्मी लिपिको अभिलेख पढेर लुम्बिनी नै बुद्धको वास्तविक जन्मस्थल हो भन्ने ऐतिहासिक प्रमाण विश्वसामु पुष्टि गर्ने कार्यमा उनको महत्त्वपूर्ण योगदान थियो।
विश्वप्रसिद्ध जापानी वास्तुविद् प्राध्यापक केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनीको गुरुयोजना तयार पारे। तीन वर्गमाइल क्षेत्रमा फैलिएको उक्त गुरुयोजनामा पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ समेटिएका छन्। यही गुरुयोजना आजको आधुनिक लुम्बिनी निर्माणको मुख्य आधार हो।
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनीको भ्रमण गरेपछि यसलाई अन्तर्राष्ट्रिय पर्यटन तथा बौद्ध शान्ति केन्द्रका रूपमा विकास गर्ने पहल सुरु गरेका थिए। उनकै प्रयासमा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन गरेको थियो।
भारतका पी। सी। मुखर्जीले सन् १८९९ मा नेपाल सरकार र ब्रिटिस भारतको संयुक्त पहलमा लुम्बिनी र वरपरका क्षेत्र, तिलौराकोटलगायत स्थानमा व्यवस्थित पुरातात्त्विक उत्खनन गरेका थिए। उनले मायादेवी मन्दिर, प्राचीन संरचना र अशोक स्तम्भको अवस्थाबारे अध्ययन गरी नक्साङ्कनसमेत गरेका थिए।
बेलायतको डरहम विश्वविद्यालयका पुरातत्त्वविद् कनिङ्घमले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन र लुम्बिनी विकास कोषसँग मिलेर मायादेवी मन्दिरभित्र व्यापक उत्खनन तथा वैज्ञानिक अध्ययन गरेका थिए। उक्त अनुसन्धानका क्रममा मायादेवी मन्दिरमुनि इसापूर्व छैटौँ शताब्दीको काठको प्राचीन संरचना फेला परेको थियो, जसले बुद्धको समय निर्धारणसम्बन्धी अध्ययनलाई थप स्पष्ट पार्न सहयोग गरेको छ।
यसरी भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र विस्तारमा विश्वका अनेक व्यक्तिको अतुलनीय योगदान रहेको छ। लुम्बिनी नेपालमा पर्छ, तर यो विश्वभरका बौद्धमार्गीको साझा आस्थाको केन्द्र हो।
यो पवित्र स्थलमा किन सधैँ उपाध्यक्ष र सदस्यसचिवको नियुक्ति विवादित हुन्छरु चाहे उपाध्यक्ष होऊन् वा सदस्यसचिव, नियुक्तिका बेला नेपाली नागरिकता र राहदानी छ कि छैन, नागरिकता सक्कली हो कि नक्कली, नेपाली हो कि विदेशी भन्ने प्रश्न उठिरहन्छ। तर यी सबै प्रश्न अनावश्यक हुन् भन्ने मेरो तर्क हो। मुख्य कुरा व्यक्ति बौद्धमार्गी हो कि होइन, मानवकल्याणका लागि उसले के योगदान गरेको छ, उसको छवि कस्तो छ, विगत र वर्तमान कस्तो छ, उसका कर्म कस्ता छन् र ऊ बौद्ध धर्मप्रति समर्पित छ कि छैन भन्ने नै हो।
यसर्थ, मेरो प्रस्ताव के छ भने संसारभरका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनी विश्वभरका बौद्धमार्गीको साझा केन्द्र भएकाले लुम्बिनी विकास कोषको उपाध्यक्ष चिनियाँ नागरिकलाई बनाऔँ, सदस्यसचिव दक्षिण कोरियालाई दिऔँ र कोषाध्यक्ष जापानलाई बनाऔँ। त्यसो गरियो भने लुम्बिनीको विकासका लागि मनग्गे सहयोग पनि आउला। यस विषयमा विज्ञहरूको मत के छ? यसो गर्दा के बिग्रिन्छ ?
आखिर हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथको पुजारी पनि त छिमेकी देशका नागरिकलाई बनाइएको छ।
तसर्थ, लुम्बिनीको उपाध्यक्ष नेपाली हो कि विदेशी भनेर प्रश्न गर्नु नै व्यर्थ छ। नेपालकै सेवा गर्छु, लुम्बिनी र बौद्ध धर्मका लागि योगदान दिन्छु भन्ने आनी छोइङको नागरिकता र राष्ट्रियताप्रति प्रश्न उठाउनुको कुनै औचित्य छैन। आनी भिक्षुणीको छवि, अन्तर्राष्ट्रिय पहिचान र सामाजिक प्रतिष्ठाका हिसाबले उनी उपयुक्त पात्र हुन्। कुनै झोले कार्यकर्तालाई भ्रष्टाचार गर्न लुम्बिनी पठाउनुको सट्टा आनीलाई जिम्मेवारी दिनु धेरै नै बुद्धिमानी काम हो।
हो, हाम्रो राष्ट्रप्रेम र देशभक्ति सराहनीय छ। तर सङ्कीर्ण सोच र सङ्कीर्ण राष्ट्रवादले यो मुलुक र हाम्रो कल्याण हुन सक्दैन।
(लामो समयदेखि पत्रकारितामा संलग्न बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी निकट मानिन्छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।