काठमाडौं । ओपनरहरू सस्तैमा आउट भए पनि रशिद खानको आक्रामक अर्धशतकसँगै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो । अब चितवनले जितका लागि १८१ रन बनाउनुपर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंको सुरुआत भने निकै कमजोर रह्यो । अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका ओपनरद्वय डेबिड वार्नर र साहिल पटेल यसपटक १३ रनमै पभेलियन फर्किए ।
वार्नरलाई कमलसिंह ऐरीले ६ बलमा एक रन बनाउँदा बोल्ड गरे । साहिल १२ बलमा आठ रन बनाएर रिजन ढकालको बलमा आउट भए ।
तर, त्यसपछि रशिद खानले इनिङ्स सम्हाल्दै काठमाडौंको रनगति बढाए । उनले ३० बलमा दुई चौका र चार छक्काको मद्दतले ५२ रन बनाए । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।
रशिदले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ६२ रनको साझेदारी गरे । बोसिस्टोले २२ बलमा एक छक्कासहित २७ रन बनाए । त्यसपछि सहन अराचिगेसँग पनि उनले चौथो विकेटका लागि ५३ रन जोडे । अराचिगेले २० बलमा तीन चौका र दुई छक्कासहित ३३ रन बनाए ।
अन्तिमतिर कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे । उनले इंग्लिस बलर डान मोस्लीको एकै ओभरका सुरुका तीन बलमा लगातार छक्का प्रहार गरे । तर, चौथो बलमा एलबीडब्लु धरापमा परे । करणले आठ बलमा तीन छक्कासहित २० रन बनाए ।
आदिल आलम अन्सारीले आठ रन बनाए भने जहाँन्दद खानले ६ रन जोडे । सन्तोष यादव दुई बलमा एक छक्कासहित आठ रनमा अविजित रहे ।
चितवनका रिजन ढकाल काठमाडौंको रनगतिमा अंकुश लगाउने क्रममा सबैभन्दा सफल बलर बने । उनले चार ओभरमा १४ रन मात्रै खर्चेर तीन विकेट लिए । कप्तान सिकन्दर राजा र कमलसिंह ऐरीले दुई–दुई विकेट हात पारे । राजाले तीन ओभरमा १९ तथा कमलले चार ओभरमा २५ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।