काठमाडौं– लगातार चौथो जित निकाल्दै काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । सोमबार चितवन राइनोजलाई १० रनले पराजित गरेपछि काठमाडौंको प्लेअफ यात्रा पनि बलियो बनेको छ ।
पाँच खेलबाट आठ अंक जोडेको काठमाडौंले लुम्बिनी लायन्सलाई एक अंकले पछाडि पारेको छ । पाँच खेल खेलेको चितवन भने पाँच अंकसहित चौथो स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । रवि बोपाराले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
चितवनले अर्जुन साउद र श्रीलंकाली खेलाडी कामिल मिसराको आक्रामक सुरुआतबाट जितको आधार तयार पार्न खोजेको थियो । यी दुईले पाँच ओभरभित्रै पहिलो विकेटका लागि ४८ रन जोडेका थिए । तर, सन्तोष यादवले अर्जुनलाई बोल्ड गरेपछि साझेदारी टुट्यो । अर्जुनले २१ बलमा चार चौकासहित २३ रन बनाए ।
मिसरा पनि धेरैबेर टिकेनन् । उनले ११ बलमा एक चौका र तीन छक्कासहित २८ रन बनाए । सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमले उत्कृष्ट रनिङ क्याच लिएपछि उनको इनिङ्स समाप्त भयो ।
त्यसपछि डान मोस्ली र रवि बोपाराले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै चितवनलाई खेलमा फर्काउने प्रयास गरे । मोस्ली ३२ बलमा तीन चौकासहित २९ रन बनाएर आउट भए ।
काठमाडौंका लागि ट्यालेन्ट हन्टबाट आएका गणेश गौतमले कप्तान सिकन्दर राजालाई दुई रनमै बोल्ड गरे । तर, बोपाराले एकतर्फबाट रन बनाउने क्रम जारी राखे । उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रन बनाए । अन्तिम ओभरमा आउट भएका उनी चितवनका लागि जितको मुख्य आशा थिए ।
कुशल मल्लले १३, विवेक यादवले चार रन बनाए । कमलसिंह ऐरी पाँच र रिजन ढकाल एक रनमा अविजित रहे ।
काठमाडौंका सहन अराचिगेले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए । कप्तान करण केसी, जहाँन्दद खान, सन्तोष यादव र गणेश गौतमले एक–एक विकेट लिए ।
रशिदको अर्धशतकले उकासिएको काठमाडौं
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले आठ विकेट गुमाएर १८० रन बनाएको थियो । सुरुआती चार ओभरमै दुवै ओपनर गुमाएपछि दबाबमा परेको काठमाडौंलाई रशिद खानले सम्हालेका थिए ।
डेबिड वार्नरलाई कमलसिंह ऐरीले एक रनमा बोल्ड गरे भने साहिल पटेल आठ रन बनाएर रिजन ढकालको बलमा आउट भए । त्यसपछि रशिदले आक्रामक ब्याटिङ गर्दै ३० बलमा दुई चौका र चार छक्कासहित ५२ रन बनाए । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।
रशिदले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । बोसिस्टोले २२ बलमा २७ रन बनाए । त्यसपछि सहन अराचिगेसँग चौथो विकेटका लागि ५३ रन जोडे । अराचिगेले २० बलमा तीन चौका र दुई छक्कासहित ३३ रन बनाए ।
अन्तिमतिर कप्तान करण केसीले आठ बलमै तीन छक्का प्रहार गर्दै २० रन जोडे । उनले डान मोस्लीको ओभरका सुरुआती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा भने उनी एलबीडब्लु आउट भए ।
आदिल आलम अन्सारीले आठ र जहाँन्दद खानले छ रन बनाए । सन्तोष यादव दुई बलमा एक छक्कासहित आठ रनमा अविजित रहे ।
चितवनका रिजन ढकालले चार ओभरमा १४ रन मात्रै खर्चेर तीन विकेट लिए । सिकन्दर राजा र कमलसिंह ऐरीले दुई–दुई विकेट हात पारे ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमाडौंले लगातार चार खेल जितेको छ । यही लय कायम राखे काठमाडौंको प्लेअफ यात्रा थप सहज हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।