काठमाडौं– बङ्गालको खाडीको पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।
मौसमविद् टेकबहादुर धामीका अनुसार उत्तर अण्डमान सागर तथा आसपास बनेको न्यून चापीय प्रणाली बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको छ। उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको उनले बताए।
यसको सम्भावित प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
विभागका अनुसार आगामी २४ घण्टामा देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै पहेँलो चेतावनी जारी गरेको छ।
विभागले न्यून चापीय प्रणालीको प्रभावबारे आधिकारिक र पछिल्लो जानकारीका लागि विभागबाट जारी हुने सूचना हेर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।