काठमाडौं– नेकपा एमालेभित्र पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि तयार पारिएको प्रतिवेदन अब केन्द्रीय कमिटीमा छलफल हुने भएको छ।
पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्दै त्यसलाई केन्द्रीय कमिटीमा लैजाने बाटो खुला गरेको हो।
चार महिनाको अध्ययन तथा छलफलपछि कार्यदलले तयार पारेको प्रतिवेदन उपाध्यक्ष थापाले सचिवालय बैठकमा पेस गरेका थिए। बैठकले प्रतिवेदनलाई सर्वसम्मत रूपमा स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भट्टका अनुसार कार्यदलमा छलफलका क्रममा देखिएका मतभेद तथा नेतृत्वसँग सम्बन्धित विषयहरू प्रतिवेदनमा समावेश छैनन्। कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको विषयलाई मात्रै प्रतिवेदनको अन्तिम रूप दिइएको उनले बताए।
चार महिना लगाएर तयार पारिएको प्रतिवेदन कार्यदलले सर्वसम्मत रूपमा बुझाएको र सचिवालयले त्यसलाई ग्रहण गरेको उनको भनाइ छ ।
अब प्रतिवेदनमा समेटिएका विषयमाथि केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी एमालेले गरेको छ। त्यसका लागि सचिवालय बैठक सोमबार बिहान ९ बजे पुनः बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कमिटी बैठकमा छलफल गरिने एजेन्डाबारे थप टुंगो लगाइने भट्टले बताए।
कार्यदलले तयार पारेको प्रतिवेदनलाई संयोजक थापाले सचिवालयमा पेस गरे पनि यो कार्यदलबाटै पारित भएको हो । पार्टीको आगामी संगठनात्मक दिशा तथा निर्वाचन समीक्षाका विषयमा प्रतिवेदनले दिएका निष्कर्षमाथि अब केन्द्रीय कमिटीमा छलफल हुने भएकाले एमालेको आगामी निर्णय त्यसपछि तय हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।