काठमाडौं– आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ स्थानीय तहमा चुनावी चहलपहल सुरु भइसकेको छ। दलहरुले आ–आफ्नो तर्फबाट अघि सार्ने उम्मेदवबारे बहस चुलिएको छ, केही ठाउँमा त दलहरुले उम्मेदवार ‘फाइनल’समेत गर्न थालिसकेका छन्।
७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका छन्। स्वाभाविक रुपमा महानगरको चुनावी चर्चा सबभन्दा धेरे हुन्छ नै। किनभने महानगरको प्रमुखको पद अधिकारको अभ्यास र बजेट परिचालनको हिसाबले यति महत्वपूर्ण बनेको छ कि त्यो पद संघीय सरकारको मन्त्री भन्दा ‘आकर्षक’ मानिँदैछ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट महानगरपालिवकामा दुई प्रमुख र पाँच उपप्रमुख निर्वाचित भएका थिए। एमालेबाट दुई प्रमुख र एक उपप्रमुख निर्वाचित भए। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट एक प्रमुख निर्वाचित भएका थिए।
वैशाख ३० गते हुने निर्वाचनमा वर्तमान सत्ता गठबन्धनमा रहेका चार दलबीचको गठबन्धन बनाउने गृहकार्य भई रहेको छ। जसमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन्। राष्ट्रिय जनमोर्चा गठबन्धनबाट यसअघि नै बाहिरिइसकेको छ। अहिलेसम्मको सम्भावना हेर्दा उनीहरुविरुद्ध एमाले एकल रुपमा भिड्ने तयारीमा छ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टी, नेपाली कांग्रेसमा भने अहिलेसम्म चुनावी गठबन्धनबारे एकमत बन्न सकेको छैन। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी गठबन्धन गर्ने पक्षमा छन् भने शेखर कोइरालापक्षले एकल रुपमा चुनावमा जानुपर्ने भन्दै देउवामाथि दबाब बढाइरहेको छ।
सत्तारुढ गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन बनाउने प्रयत्न चुलिएपनि गठबन्धन हुने वा नहुने टुंगो लागिनसकेकाले गठबन्धनका तर्फबाट कुन स्थानीय तह कसको भागवण्डामा पर्ला र त्यहाँको नतिजा के होला भन्ने आकलन गर्न कठिन छ। चुनावी तालमेललाई लिएर कांग्रेस सभापति देउवा यसको पक्षमा मुखर देखिए पनि कांग्रेस नेताहरु अहिलेसम्म सार्वजनिक रुपमा चाहिँ पक्षमा देखिएका छैनन् । माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपा भने कांग्रेसलाई फकाएर चुनावी गठबन्धनमा ल्याउन प्रयत्नरत छन्। सबै स्थानीय तहमा तालमेल नभएपनि खास खास स्थानीय तहमा तालमेल हुन सक्ने सम्भावना ज्यादा छ जुन नेताहरुले पनि बताइरहेका छन्।
स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरेर चारखाले संरचना छन्। चारथरि संचरनामा चारैथरि ‘मोडल’ बनाएर चुनावी गठबन्धन गर्ने विषयमा समेत छलफल भइरहेको एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरी बताउँछन्। त्यसो नभएमा यसअघि जितेका स्थानीय तहमा आ–आफ्नै पार्टीका उम्मेदवार उठाएर एमालेले जितेका स्थानीय तहमा भागवण्डा गर्नेबारे पनि गठबन्धनमा छलफल भएको छ। त्यसो भएमा ६ महानगरमा सत्ता गठबन्धनका चार दलबीच भागवण्डा हुनेछ।
यसअघि जहाँ जुन दलले जितेको हो, त्यहाँ त्यही दललाई सघाएर वाँकी स्थानीय तह भागवण्डा गर्दा एकीकृत समाजवादीले एक महानगर दाबी गर्ने चौधरीले बताए। काठमाडौ र पोखरामध्ये एक महानगर आफूहरुले दाबी गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बताइसकेका छन्। केही दिनअघि एक कार्यक्रममा उनले सत्तारुढ दलहरुबीच गठबन्धन भए आफ्नो पार्टीले पोखरा वा काठमाडौंमध्ये एक महानगर दाबी गर्ने बताएका थिए। एमालेले जितेको स्थानीय तहमा आफूहरुले दाबी गर्नु स्वाभाविक भएको नेपालको भनाइ छ।
ललितपुर र विराटनगरमा यसअघि कांग्रेसले जितेको थियो भने भरतपुर माओवादी केन्द्र र वीरगञ्जमा जसपाले मेयर जितेको थियो। त्यहाँ उनीहरुले नै दाबी गर्ने देखिन्छ। एमालेले जितेको काठमाडौ र पोखरामध्ये एक महानगर कांग्रेसको भागमा पर्न सक्ने सम्भावना बढी छ। तर, कांग्रेस आफै ६ महानगरमै मुख्य प्रतिस्पर्धी रहेकाले तालमेल गर्ने वा नगर्ने भने उसको निर्णयमा निर्भर हुनेछ।
कांग्रेस नेताहरु स्थानीय तहमा तालमेल गर्ने अधिकार सम्बन्धित पालिकालाई दिनुपर्ने बताइरहेका छन्। यस्तो अवस्थामा चार दलीय गठबन्धनबीच सजिलै तालमेल हुने सम्भावना कमजोर बन्नसक्छ। त्यो अवस्थामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मात्र पनि तालमेल हुनसक्छ।
कुन महानगरमा कसको पल्लाभारी?
गत निर्वाचनमा काठमाडौैं महानगरमा एमालेबाट मेयरमा विद्यासुन्दर शाक्य, पोखरा महानगरमा एमालेबाटै मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङ विजयी भएका थिए। काठमाडौ महानगरको उपमेयरमा कांग्रेसबाट हरिप्रभा खड्गी विजयी भएकी थिइन्।
ललितपुर महानगरको मेयर र उपमेयरमा कांग्रेसका चिरिबाबु महर्जन र गिता सत्याल, विराटनगरको मेयर र उपमेयरमा कांग्रेसकै भीम पराजुली र इन्दिरा कार्की निर्वाचित भएका थिए। भरतपुर र वीरगञ्जको उपप्रमुखमा पनि कांग्रेसकै पवित्रा शाह र शान्ति कार्की निर्वाचित भए। माओवादीबाट भरतपुरको मेयरमा रेणु दाहाल मात्र निर्वाचित भएकी थिइन् भने तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरको मेयरमा विजय सरावगी निर्वाचित भएका थिए। पछिल्लो समय सरावगी एमाले प्रवेश गरेका छन्।
विराटनगर
विराटनगरमा कुल मतदाता २ लाख १८ हजार ५२६ छन्, जसमध्ये महिला १ लाख ११ हजार ८५२ र पुरुष १ लाख ६ हजार ६७४ छन्। २०७४ को निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए। उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो। माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो, जसमा फोरमबाट मेयरको उम्मेदवार रहेका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।
सत्ता गठबन्धनभित्र विराटनगर कांग्रेसको भागमा परेमा एमालेमाथि कांग्रेस हावी हुने देखिन्छ। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सघाउँदा पुनः मेयर र उपमेयर जित्ने सम्भावना देखिन्छ।
यद्यपि चुनावी गठबन्धन हुँदा पनि महानगरमा उम्मेदवार कुन मोडलमा भागबण्डा गर्ने भन्ने टुंगो लागेको छैन। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले नसघाएपनि कांग्रेसलाई जित्न त्यति कठिन देखिँदैन। २०७४ मा कांग्रेस उम्मेदवारले मेयरमा एमाले उम्मेदवारलाई ५ हजार ७१० मतले पराजित गरेका थिए। एमालेलाई अब झन् कठिन किन पनि छ भने अहिले एमाले विभाजन भएको छ। विराटनगरमा फुटको असर भएकाले उसको केही मत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि काट्नेछ। एमालेसँग तालमेल भए बेग्लै कुरा, नभए गठबन्धनमै सहभागी अन्य दलले कांग्रेसलाई चुनौती दिने सम्भावना पनि छैन।
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकामा जसपा, कांग्रेस र लोकतान्त्रिक समाजवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। २०७४ को नतिजा हेर्दा माओवादी केन्द्र र एमाले प्रतिस्पर्धामै आउने देखिँदैन।
वीरगञ्जको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन।
सरावगी अहिले एमाले प्रवेश गरेकाले एमालेलाई पनि एकथरिले बलियो मानेका छन्। उनी एमाले प्रवेशको असर जसपाले बेर्होनुपर्ने हुन सक्छ। यसअघिको निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १९६ मात्र थियो। यस्तो कडा प्रतिष्पर्धा भएको अवस्थामा यसपटक जसपा एक्लैले मेयर जित्न कठिन छ। त्यस्तो अवस्थामा जसपाले गठबन्धनमा सहभागी दलको मत नपाए मेयर जित्न गाह्रो छ। यसो हुँदा गठबन्धनबाट जसपाबाट मेयरको उम्मेदवार भए एमालेबाट उनै सरावगी पुनः मेयरको उम्मेदवार हुने देखिन्छ।
यस्तो अवस्थामा जसपाले मेयर आफ्नो पोल्टामा पार्न गठबन्धन गर्नैपर्ने हुन्छ। यसबीचमा जसपाले तत्कालीन राजपाबाट मेयरमा पराजित राजेशमान सिंहलाई पार्टीमा प्रवेश गराएको छ। उनलाई नै जसपाले मेयरको उम्मेदवार बनाउने देखिन्छ।
भरतपुर
भरतपुरमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरेर कुल मतदाता १ लाख ५० हजार २७४ छन्। त्यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो। माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्।
भरतपुरको मेयरको मत हेर्दा कांग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो। यसरी हेर्दा माओवादीले एकल रुपमा भरतपुरको मेयर जित्ने सम्भावना नै छैन। कांग्रेससहितका दलसँग चुनावी तालमेल गरेर माओवादीले मेयर पाएमा पनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। एमाले विभाजन भएपनि त्यसको असर भरतपुरमा भने कम पर्ने आकलन छ।
यसअघि दाहालले चुनावी मतपत्र च्यातेर जितेको आरोप छ। त्यो आरोप नपखालिएकाले माओवादीका अन्य उम्मेदवार उठ्दा पनि त्यसको नोक्सानी उसले बेहोर्नु पर्नेछ।
यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो। राप्रपाका बद्रीनाथ तिमिल्सेनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्। अहिले राप्रपा विभाजित भएकाले त्यसको असर पर्ने सम्भावना पनि छ। गठबन्धनमा सहभागी जसपा लगायत दलहरुको प्रभाव कम भएकाले चुनावी प्रतिस्पर्धामा उत्रिने सम्भावना कम छ।
पोखरा
काठमाडौंपछि सबैभन्दा बढी मतदाता भएको पोखरा महानगरपालिकामा महिला २ लाख १२ हजार ८२७ र पुरुष २ लाख १ हजार १०७ गरेर कुल मतदाता ४ लाख १३ हजार ९३४ छन्। पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।
यसअघिको निर्वाचनमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७०२ छ। अहिले एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आकलन छ।
ललितपुर
ललितपुरमा यसअघि कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा भएको थियो। मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यन्जनकारले २४ हजार ३१६ मत पाएका थिए। महर्जन र ब्यन्जनकारवीच मतान्तर ३२६ मात्र थियो। त्यो मतलाई कांग्रेसले समेत नजरअन्दाज गरेको छैन।
माओवादी ललितपुरमा तेस्रो भएको थियो। माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। ललितपुरमा माओवादीले कांग्रेसलाई सहयोग गरे एमालेका लागि निकै कठिन हुनेछ।
उपमेयरमा कांग्रेसकी गिता सत्याल १९ हजार ८१९ मत ल्याएर विजयी भएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन्। अहिले साझा पार्टी विभाजनले टुक्रिएको छ। यसअघि निर्वाचनमा एमाले राप्रपाबीच चुनावी तालमेल भएकाले राप्रपाबाट बाबुकाजी थापाले उपमेयरमा उम्मेदवारी दिएका थिए। उनी उपमेयरमा १० हजार ५४७ मत ल्याएर चौंथो भएका थिए। माओवादीबाट हसिना शाक्यले उपमेयरमा १२ हजार ९७९ मत ल्याएर तेस्रो भएकी थिइन्।
काठमाडौं
काठमाडौं महानगरपालिका एमालेले जितेकाले नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ। यसअघि एमालेले जितेकाले भागवण्डामा काठमाडौं आफूले पाउनुपर्ने उसको माग छ।
काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए। शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए। मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए।
कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए। उनलाई एमालेको साथ थियो। माओवादी केन्द्रकी शुसिला कुमारी पौडेलले १० हजार ४४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।