काठमाडौंं- निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले २७ अक्टोबरदेखि चीनको बेइजिङ उडान गर्ने निश्चित भएको छ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार २७ अक्टोबरबाट सातामा दुईवटा उडान हुनेछ। एयरलाइन्सले चीनको बेइजिङका लागि केही समय अगाडि मात्रै सञ्चालनमा आएको डासिङ विमानस्थलमा उडान गर्ने लागेको श्रेष्ठले जानकारी दिए।
उनका अनुसार २७ अक्टोरको पहिलो उडानपछि सातामा मंगलबार र शुक्रबार गरी नियमित उडान हुनेछ। ‘पहिलो चरणमा सातामा दुईवटा उडान हुन्छन्,’ उनले भने, ‘केही सयमपछि भने बिस्तारै दैनिक उडान गर्ने हो।’
एयरलाइन्सले २७ अक्टोबरअगाडि नै एयरबस-३१९ विमान नेपाल ल्याएर उडान गर्ने तयारी गरे पनि सफल भने हुन नसक्ने भएको छ। तत्कालका लागि ए-३२० विमानमार्फत नै उडान गर्ने श्रेष्ठले जानकारी दिए। एयरलाइन्सले एयरबस-३१९ विमान पनि केही समयपछि ल्याउने उनको भनाइ छ।
बिहान ८ बजेर ३० मिनेटमा नेपालबाट उडान भरेर सोही दिन डासिङ विमानस्थलमा पुगी नेपाल फर्किने तालिका छ।
हिमालय एयरलाइन्ससँग अहिले ३ वटा एयरबस विमान छन्। एयरलाइन्समा नेपाली व्यवसायी र चिनियाँ सरकारी कम्पनीको लगानी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।