काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने नवौं खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने डे–नाइट खेलमा जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा जनकपुर तुलनात्मक रूपमा बलियो अवस्थामा देखिन्छ। जनकपुरले दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको छ। पोखराले भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।
जनकपुरले प्रतियोगिताको सुरुआत कर्णाली याक्ससँगको हारबाट गरेको थियो। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ११३ रनमै समेटिएको थियो। ब्याटिङमा साझेदारी बनाउन नसक्नु र नियमित अन्तरालमा विकेट गुमाउनु जनकपुरको मुख्य कमजोरी बनेको थियो।
तर‚ दोस्रो खेलमा जनकपुरले उत्कृष्ट पुनरागमन गर्यो। काठमाडौं गोर्खाजलाई ११५ रनमा सीमित गरेको जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीको जितमा बलर राहुल यादवले महत्त्वपूर्ण भूमिका खेले। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए।
ब्याटिङमा मोइन अली र सैफ हसनले जिम्मेवारी सम्हाले। मोइनले अविजित ५८ तथा सैफले अविजित ४० रन बनाए। दुवैबीचको अविजित साझेदारीले जनकपुरलाई आठ विकेटको सहज जित दिलाएको थियो। पहिलो खेलमा देखिएको ब्याटिङ कमजोरी सुधार्नु जनकपुरका लागि सकारात्मक पक्ष बनेको छ।
उता पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले २५ बलमा ४० र महेदी हसनले २१ बलमा ३२ रन बनाएका थिए। उनीहरूको आक्रामक ब्याटिङ पोखराका लागि सकारात्मक पक्ष रहे पनि टोलीले त्यसलाई ठूलो स्कोरमा बदल्न सकेन।
बलिङमा अनिल खरेलले तीन विकेट लिए पनि पोखराले सुदूरपश्चिमलाई रोक्न सकेन। सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाएपछि पोखरा ६ विकेटले पराजित भएको थियो। विपक्षी ब्याटरलाई लामो साझेदारी गर्न दिनु पोखराको मुख्य कमजोरी देखिएको थियो।
जनकपुर र पोखराबीचको पछिल्लो आमनेसामनेको इतिहास भने बराबरी छ। अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन्। सन् २०२५ नोभेम्बर २७ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ डिसेम्बर ५ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो।
आजको खेलमा जनकपुरका लागि राहुलको बलिङ र अली तथा हसनको ब्याटिङ महत्त्वपूर्ण हुनेछ। पोखराले भने अर्जुन र हसनबाट पुनः राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ। साथै अनिलको बलिङले पनि खेलको दिशा निर्धारण गर्न सक्छ।
जनकपुरका लागि पहिलो खेलमा देखिएको ब्याटिङ कमजोरी दोहोरिन नदिनु चुनौती हुनेछ भने पोखराले ब्याटिङमा बनाएको आधारलाई ठूलो स्कोरमा बदल्नुपर्नेछ। जनकपुर जितको लय कायम राख्न चाहन्छ भने पोखरा हारको शृंखला सुरु हुन नदिन पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।