काठमाडौं। लगातार दुई हारको निराशालाई बिर्साउँदै बार्सिलोनाले स्पेनिस ला लिगामा आलाभेसमाथि ६–१ को सानदार जित निकालेको छ।
शनिबार घरेलु मैदानमा भएको खेलमा राफिन्हा, फर्मिन लोपेज, लामिन यमल र एन्थोनी गोर्डनले गोल गरेपछि बार्सिलोनाले प्रभावशाली पुनरागमन गरेको हो।
यस जितसँगै बार्सिलोना ३० अंक जोडेर ला लिगाको शीर्षस्थानमा कायम छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सिलोना दुई अंकले अगाडि छ। एट्लेटिकोले शनिबार नै लेभान्तेलाई २–० ले पराजित गरेको थियो। तेस्रो स्थानको रियल मड्रिड भने बार्सिलोनाभन्दा ६ अंकले पछाडि छ। उसले आइतबार रेसिङ सान्तान्दरसँग खेल्नेछ।
खेलको सुरुआती मिनेटमा बार्सिलोनाको रक्षापंक्तिको प्रदर्शनबाट प्रशिक्षक हान्सी फ्लिक सन्तुष्ट देखिएका थिएनन्। उनले खेलाडीलाई पटक–पटक निर्देशन दिइरहेका थिए। तर‚ आक्रमणमा भने बार्सिलोनाले आलाभेसलाई सम्हालिन दिएन।
आठौं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए। पेद्रीको उत्कृष्ट पासले आलाभेसको मध्यपंक्ति चिर्दै अवसर सिर्जना गरेको थियो। त्यसमा फर्मिन लोपेजले उपलब्ध गराएको पासलाई राफिन्हाले गोलमा परिणत गरे।
२३औं मिनेटमा फर्मिन आफैंले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। कठिन कोणबाट उनले गरेको प्रहार आलाभेसका गोलरक्षकले रोक्न सकेनन्। फर्मिनले ४१औं मिनेटमा पुनः राफिन्हाका लागि अवसर सिर्जना गरे। विपक्षीबाट बल खोसेपछि उनले उपलब्ध गराएको पासमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए। उत्कृष्ट पासिङ संयोजनपछि आएको बललाई उनले तल्लो कुनामा प्रहार गर्दै जाली चुमाए।
दोस्रो हाफमा पनि बार्सिलोनाको आक्रमण रोकिएन। ६४औं मिनेटमा वैकल्पिक खेलाडी गाब्रिएल जेससको पासमा यामालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे।
खेल सकिन नौ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डनले बार्सिलोनाका लागि छैटौं गोल गरे। स्पेनिस मिडफिल्डर रोड्रीले आलाभेसको रक्षापंक्तिपछाडि उपलब्ध गराएको पासलाई गोर्डनले सदुपयोग गरे।
तर‚ तीन मिनेटपछि रोड्रीकै गल्तीमा आलाभेसले सान्त्वना गोल फर्कायो। उनको पास विपक्षीको नियन्त्रणमा पुगेपछि मारियानो डियाजले आलाभेसका लागि एक गोल गरे।
खेलपछि प्रशिक्षक फ्लिकले लगातार दुई हारपछि टोलीले देखाएको प्रतिक्रियाप्रति सन्तुष्टि व्यक्त गरे। उनले भने, ‘दुई हारपछि मैले देख्न चाहेको प्रदर्शन यही हो। हामीले जसरी प्रतिक्रिया जनायौं, त्यो राम्रो थियो र सही दिशामा थियो।’
रियलसँग २–१ ले पराजित हुँदा बार्सिलोनामा ताजगीको कमी देखिएको भन्दै फ्लिकले आलोचना गरेका थिए। त्यसपछि च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग ४–२ को हार बेहोरेको बार्सिलोनाले आलाभेसविरुद्ध भने आक्रामक खेल प्रस्तुत गर्यो।
बार्सिलोनाले चोटका कारण रक्षापंक्तिमा मिडफिल्डर ब्रायन फारिनास र फ्रेन्की डी योङलाई खेलाएको थियो। जुलेस कुन्दे, आन्द्रेस क्रिस्टेन्सन र एरिक गार्सिया कहिले फर्कने भन्नेबारे फ्लिकले स्पष्ट जानकारी दिएका छैनन्।
‘अन्तर्राष्ट्रिय विश्रामअघि यी दुई खेल पार गर्नुपर्नेछ। को फर्कन्छ भन्ने हामीलाई थाहा छैन,’ फ्लिकले भने।
बार्सिलोनाले मंगलबार च्याम्पियन्स लिगमा एस्टन भिल्लासँग खेल्नेछ। आलाभेसविरुद्धको जितले आत्मविश्वास बढाए पनि उक्त खेल बार्सिलोनाका लागि थप कठिन परीक्षा हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।