काठमाडौं- गत वर्षको मंसिर ११ गते सरकारले तामझामका साथ सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना खासै प्रभावकारी हुन सकेन।
११ महिनाको अवधिमा ९१ हजार ८ सय ४४ श्रमिक र ८ हजार १ सय २८ रोजगारदाता कोषमा आबद्ध भएका छन्।
नेपालको सन्दर्भमा यो संख्या ज्यादै न्यून हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा ९ लाख प्रतिष्ठान छन्। ती प्रतिष्ठानहरूमा आबद्ध श्रमिकहरुको संख्या पनि ज्यादै ठूलो छ। तर, कोषले अपेक्षा गरेजति श्रमिक तथा रोजगारदाता कोषमा आबद्ध हुन सकेका छैनन्।
यसअघि दिइएको सबै रोजगारदाता र श्रमिक सहभागी हुनुपर्ने साउन मसान्तसम्मको म्यादमा सोचेअनुकुल श्रमिक तथा रोजगारदाताको सहभागिता नभएपछि संशोधन गरी कोषमा आबद्ध हुने म्याद असोज मसान्तसम्म पुर्याइएको थियो।
यस म्यादमा पनि सोचेअनुकुल रोजगारदाता तथा श्रमिकहरू कोषमा आबद्ध हुन सकेका छैनन्।
कोषले तोकेको समयभित्र कोषमा आबद्ध हुन अटेर गर्ने रोजगारदाता तथा श्रमिकहरूलाई कोषले कारबाही गर्ने कोषकी प्रवक्ता रमा भट्टराईले नेपाल लाइभलाई जानकारी दिइन्।
‘असोज मसान्तभित्र कोषमा आबद्ध हुन नआउने रोजगारदाता तथा योगदानकर्ताहरूलाई पनि अन्य विभिन्न माध्यमबाट अनिवार्य रुपमा कोषमा सूचीकृत गराउन कोषले बाँकी प्रक्रिया अगाडि बढाउँछ।
'निजी क्षेत्रलाई जसरी पनि कोषको दायरामा ल्याउँछौं,’ प्रवक्ता भट्टराईले भनिन्।
बिहीबारसम्म कोषमा आबद्ध नभएका प्रतिष्ठान वा रोजगारदाताहरूलाई कर तिर्दा, नवीकरण गर्दा वा अन्य विभिन्न कानुनी प्रकृयाहरू पूरा गर्ने सन्दर्भमा रोक्का गरी सामाजिक सुरक्षा योजनामा अनिवार्य रुपमा सूचीकृत गराउने कोषले जनाएको छ।
नेपालका सन्दर्भमा सामाजिक सुरक्षा योजना नयाँ अभ्यास भएकाले पनि योजनामा सूचीकृत हुन आउने रोजगारदाता तथा श्रमिकहरूको संख्या कम भएको उनको भनाइ छ।
के हो सामाजिक सुरक्षा योजना?
योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ को दफा १० बमोजिम सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि कोषले ऐनको दफा ७० को उपदफा २ को अधिनमा रही सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को पहिलो संशोधन समेत भइसकेको छ।उत्पादनशील उमेरमा कमाएको रकमको केही हिस्सा बचत गरी अशक्त अवस्थामा त्यसको प्रतिफल पाउने गरी सारिएको योजना नै सामाजिक सुरक्षा योजना हो।
यो योजनाले निजी क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षालाई सुनिश्चितता प्रदान गर्दछ। यो योजनामा आबद्ध हुनका लागि श्रमिकहरूको योगदानबाट मासिक रुपमा केही रकम कोषमा जम्मा गर्नुपर्दछ।
श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक ११ प्रतिशत कट्टि गरी त्यसमा रोजगारदाताले २० प्रतिशत थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्दछ।
योगदानकर्ताको रकम कोषमा जम्मा हुन सुरु गरेपछि कोषले ल्याएका विभिन्न स्किम अनुसारका सेवासुविधा श्रमिकहरुले प्राप्त गर्दछन्।
सामाजिक सुरक्षा योजनामा कस्ता छन् सुविधा?
सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धअवस्था सुरक्षा योजनासहित ४ वटा सुरक्षा योजनाहरू अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।