काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम 'अबुधावी डायलग'मा नेपालको तर्फबाट सम्बोधन गर्ने भएका छन्।
आज (बुधबार) र बिहीबार (भोलि) संयुक्त अरब इमिरेट्स (युएई)मा हुन गइरहेको पाँचौ मन्त्रीस्तरीय डायलगमा मन्त्री विष्टले सम्बोधन गर्ने श्रम मन्त्रालयले जनाएको छ।
नेपाल अबुधावी डायलगको सदस्य मुलुक हो। बैठकमा सहभागी हुन मन्त्री विष्ट मंगलबार नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई प्रस्थान गरिसकेका छन्। प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना रहेका छन्।
छलफल श्रमिक आपूर्ति प्रक्रियालाई सुरक्षित, व्यवस्थित तथा थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ। त्यस्तै, श्रमिकको हक हित तथा सामाजिक सुरक्षाका विषयमा समेत छलफल केन्द्रित रहनेछ।
डायलगमा श्रमिक पठाउने देशहरु नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुँदैछन्।
त्यस्तै श्रमिक लिने देश युएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमनको पनि सहभागीता रहनेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।