काठमाडौं- विश्व अर्थतन्त्रमा देखिएको ओरालो गतिको प्रभाव दक्षिण एसियामा पनि पर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ। सन् २०१९ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.९ प्रतिशतमा सीमित हुने विश्व बैंकले आँकलन गरेको छ।
विश्व बैंकले यसअघि अप्रिलमा गरिएको अनुमानभन्दा आर्थिक वृद्धिदर १.१ प्रतिशत बिन्दूले कम हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। प्रत्येक वर्ष २ पटक सार्वजनिक हुने क्षेत्रीय अपडेटमार्फत उसले दक्षिण एसियाको आर्थिक वृद्धिदर अल्पकालीन समयमा फर्किने निश्चितता नभएको पनि जनाएको छ।
विगतमा उच्च आन्तरिक मागका कारण सिर्जित उत्पादनले उच्च आर्थिक वृद्धिदर कायम भए पनि यसपटक त्यो क्षेत्र कमजोर रहेको विश्व बैंकले जनाएको छ। दक्षिण एसियाभित्र आयातमा गिरावट देखिएको पनि जनाइएको छ।
औद्योगिक उत्पादन र आयात दुवैमा गिरावट देखिएको छ। यसका साथै वित्तीय क्षेत्रमा पनि दबाब देखिएको छ, जसको नतिजा आर्थिक वृद्धिदरमा गिरावट आउने देखिएको छ, विश्व बैंकको दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्ट्विग स्काफरले भनेका छन्।
विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान यसैसाथ सार्वजनिक गरेको छ। उसले पर्यटन आवावगमन र सार्वजनिक खर्चले सेवा र निर्माण क्षेत्रलाई बलियो बनाएकाले यो उपलब्धि हासिल हुने पनि जनाएको छ। विश्व बैंकले नेपालले २०१९ मा ७.१ प्रतिशत, २०२० मा ६.४ प्रतिशत र २०२१ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको छ।
नेपालले सन् २०१९ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरे दक्षिण एसियाकै दोस्रो उच्च हुनेछ। यो वर्ष बंगलादेशको सबैभन्दा धेरै ८.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्व बैंकको प्रक्षेपण छ। भारतले ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रतिवेदनमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।