काठमाडौं- जिल्ला अदालत काठमाडौंले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ। अदालतबाट पक्राउ पुर्जी पाएसँगै महरा पक्राउ पर्न सक्ने सम्भावना बढेर गएको छ।
स्रोतका अनुसार महरा आजै पक्राउ पर्न सक्ने सम्भावना रहेको छ। अदालतको पुर्जी अनुसार प्रहरीले जुनसुकै समयमा पनि महरालाई पक्राउ गर्न सक्ने एक प्रहरीले अधिकारीले जानकारी दिए।
शुक्रबार महराविरुद्द प्रहरीमा किटानी जाहेरी परेको थियो। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान गर्ना लागि प्रहरी जिल्ला अदालत काठमाडौं पुगेको थियो।
प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतको पक्राउ पुर्जी जारी गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिने बाटो खुलेको छ।
जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।
ऐनको दफा ९ मा कसूरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ । जसको दफा (३) उपदफा (२) मा निवेदन परेमा र पक्राउ गर्नुपर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।