काठमाडौं- कर्मचारीकै संलग्नतामा कृषि विकास बैंक ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले सो बैंकको लहान शाखाका लोन प्रमुखलाई पक्राउ गरेको छ।
बैंकको लहान शाखाका लोन शाखा प्रमुख सुनीलकुमार साहलाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो।
बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको थियो। लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए।
यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।
भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियाे। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियाे।
गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्।
उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ। उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ।
योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो।
घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।
कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।
यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले करिब २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।
थप समाचार
ह्याकरले फेरि लुटे कृषि विकास बैंकको करिब २ करोड, ३ जना रकम निकाल्दै गर्दा काठमाडौंबाट पक्राउ
एक महिनादेखि ह्याकरले लुट्दै आएका थिए कृषि विकास बैंक, ५ करोडभन्दा बढी लुटियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।