• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १४, २०८३  ०७:५८
1140x725

रुपन्देही। भैरहवाको पुरानो बजारमा अहिले पनि व्यापारिक इतिहासका अनेक कथा भेटिन्छन्। कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनको केन्द्र बनेको छ। यहाँका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाललाई बाल्यकालको भैरहवा सम्झँदा अहिलेको सहरको स्वरुप निकै फरक लाग्छ।

“त्यतिबेला भैरहवा अरु गाउँभन्दा अलिकति राम्रो गाउँजस्तै थियो,” वि.सं. २००५ सालमा भैरहवामै जन्मिएका अग्रवाल सम्झन्छन्, ‘बाटोमा ग्राभेल समेत थिएन, ढुंगैढुंगा हुन्थे। अहिलेको भीम अस्पतालभन्दा अगाडि जान पनि डर लाग्थ्यो।” 

अग्रवालको यो स्मृतिले भैरहवाको रुपान्तरणलाई बुझ्न सघाउँछ। कुनै समय सीमित बस्ती र कृषि उपजको कारोबारमा निर्भर यो ठाउँ आज नेपाल–भारत व्यापारको महत्वपूर्ण प्रवेशद्वार, औद्योगिक क्षेत्र र लुम्बिनीको पर्यटन आधारका रुपमा स्थापित छ। तर यो परिवर्तन एकैपटक भएको होइन। प्रशासनिक केन्द्रको विस्तार, हवाई मैदान निर्माण, सडक सञ्जाल, खाद्यान्न व्यापार र उद्योगको विकास हुँदै भैरहवाले सहरको स्वरूप ग्रहण गरेको हो। 

आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनी करिडोरका उद्योग र ठूला स्वास्थ्य संस्थाले यस क्षेत्रको आर्थिक सम्भावना बढाएका छन्। यद्यपि पूर्वाधार निर्माणअनुसार आर्थिक लाभ र रोजगारी विस्तार हुन नसकेको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

गाउँ, झाडी र छरिएका बस्तीको भैरहवा

भैरहवाको पुरानो इतिहास खोतल्दा आजको बजार क्षेत्रभन्दा बाहिर रहेका बस्तीहरुको महत्व देखिन्छ। कचरिहवा, पक्लिहवा, मेउडिहवा, नौडिहवा, बहडिलवा, मतखोलवा, दोगहरा, शंकरपुर, पिपरहिया र कठौतियाजस्ता बस्तीहरु यस क्षेत्रको पुरानो बसोबाससँग जोडिएका छन्। स्थानीय जनश्रुति र इतिहासका विवरणअनुसार त्यतिबेला यहाँ खेतीयोग्य जमिन, झाडी, जंगल र छरिएका बस्ती थिए। थारु, बोटे तथा अन्य स्थानीय समुदायको बसोबास रहेको यस भूभागमा कृषि र परम्परागत पेसा जीविकाका प्रमुख आधार थिए। 

भैरहवा नामकरणबारे पनि विभिन्न धारणा छन्। इतिहासकार विजय सागरका अनुसार, पाल्पाका राजा मणिमुकुन्द सेनसँग सम्बन्धित भैरवको गुठीबाट यस ठाउँको नाम विकसित भएको हुन सक्ने मत छ। उनका अनुसार भैरवको गुठी रहेको स्थानलाई ‘भैरव हवा’ भनिँदै जाँदा ‘भैरहवा’ नाम बनेको हुन सक्छ। तर यो व्याख्यालाई स्थापित ऐतिहासिक तथ्य मान्न थप प्रमाण र अनुसन्धान आवश्यक छ।

Ncell 2
Ncell 2
nimb
nimb

वि.सं. १९९० आसपाससम्म यहाँको बस्ती सीमित थियो। प्रशासनिक गतिविधि विस्तार हुन थालेपछि भने यसको महत्व बढ्दै गयो। इतिहासकार सागरका अनुसार, भैरहवालाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्ने प्रक्रिया सुरु भएसँगै सरकारी कार्यालयहरू स्थापना हुन थाले र बाहिरबाट मानिसहरु बसाइँ सर्ने क्रम बढ्यो। 

अग्रवालका अनुसार, त्यतिबेला केही प्रमुख प्रशासनिक अधिकारी भैरहवामै बस्ने भए पनि सरकारी अड्डाहरु बेथरीमा थिए। पछि ती कार्यालयहरु भैरहवा सर्न थाले। सरकारी कार्यालय, कर्मचारी र सेवाग्राहीको आवागमन बढेपछि बजार पनि विस्तार हुन थाल्यो। गाउँका मानिसहरु किनमेल र प्रशासनिक कामका लागि भैरहवा आउन थाले। 

यसरी प्रशासनिक गतिविधिले भैरहवालाई गाउँबाट बजारतर्फ लैजाने आधार तयार गर्‍यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हवाई मैदानदेखि नगरपालिकासम्म

भैरहवाको विकासमा हवाई मैदानको भूमिका महत्वपूर्ण रह्यो। शान्तिनगर क्षेत्रमा सुरुमा कच्ची हवाई मैदान थियो। अग्रवालको स्मृतिमा त्यस क्षेत्रको विकाससँगै पसलहरु खुल्न थालेका थिए। हवाई आवागमनले यस क्षेत्रको चहलपहल बढाउनुका साथै भैरहवाको पहिचानलाई फराकिलो बनाउन सहयोग गर्‍यो। 

इतिहासकार विजय सागरका अनुसार, वि.सं. २०१७ सालतिर भैरहवा आउँदा बजारमा एकाध फुसका घर र सडकमा ढुंगाका बोल्डर मात्र देखिन्थे। बुटवल पुग्न चारदेखि पाँच घण्टा लाग्थ्यो। अहिलेका व्यवस्थित सडक र यातायात सुविधासँग तुलना गर्दा त्यतिबेलाको अवस्था निकै कठिन थियो। 

अग्रवालले शान्तिनगरको पुरानो हवाई मैदानमा भएको एउटा विमान दुर्घटना पनि सम्झन्छन्। बाल्यकालमा गाउँबाट बैलगाडामा फर्किंदै गर्दा विमान खसेको देखेको उनको स्मृति छ। त्यतिबेला उपचारका लागि पर्याप्त अस्पताल र स्वास्थ्य सुविधा नहुँदा घाइतेको उपचार कठिन हुने गरेको उनी बताउँछन्। यो सम्झनाले भैरहवाको पुरानो भौतिक अवस्थासँगै स्वास्थ्य सेवाको सीमिततालाई पनि उजागर गर्छ।

वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतका रुपमा औपचारिक नगर घोषणा भयो। वि.सं. २०३३ सालदेखि यसको नाम सिद्धार्थनगर राखियो। भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थसँग जोडिएको यो नामले लुम्बिनी क्षेत्रको सांस्कृतिक पहिचानलाई पनि प्रतिनिधित्व गर्छ।

आज सिद्धार्थनगर नगरपालिका १३ वडामा विभाजित छ। उपलब्ध नगरपालिकाको विवरणअनुसार यहाँ ७४ हजार ४३६ जनसंख्या र १५ हजार ८७१ घरधुरी छन्। जनघनत्व प्रतिवर्ग किलोमिटर २ हजार ६६ जना छ। साक्षरता दर ८६.१ प्रतिशत पुगेको सिद्धार्थनगर नगर पालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए। 

यी तथ्यांकले भैरहवा अब सानो गाउँ रहेन, बढ्दो जनसंख्या र आर्थिक गतिविधि व्यवस्थापन गर्नुपर्ने सहरी केन्द्र बनिसकेको पुष्टि गर्छन्। 

सडकले बदलेको व्यापारको दिशा

भैरहवाको आर्थिक इतिहासमा सडक विकास एउटा निर्णायक मोड हो। कुनै समय सुनौलीबाट बुटवल पुग्ने बाटो सहज थिएन। हालको पक्लिहवाबाट मैत्रीपथ, नारायणपथ हुदै बुटवल पुगिन्थ्यो। ढुंगैढुंगा, धुलाम्मे र खाल्डाखुल्डी सडकमा यात्रा गर्न घण्टौँ लाग्थ्यो। मालसामान ढुवानीका लागि साइकल, घोडा र बयलगाडाको प्रयोग हुन्थ्यो। 

“हामी साइकलमा कपडा र अन्य सामान राखेर परासी, लुम्बिनी, कक्रहवा र आसपासका गाउँसम्म पुर्‍याउँथ्यौँ,” अग्रवाल सम्झन्छन्, “कतिपय ठाउँमा घोडाबाट सामान जान्थ्यो, कतै बयलगाडाबाट।”

त्यतिबेला भैरहवा र भारतीय बजार नौतनवाबीचको व्यापारिक सम्बन्ध निकै बलियो थियो। अग्रवालका बुबा व्यापारका लागि नौतनवामा बस्ने र दैनिक भैरहवा आउने–जाने गर्थे। भैरहवामा भन्सारको कामसमेत हालको राधाकृष्ण मन्दिर नजिकै भाडामा लिइएको भवनबाट हुने गरेको उनी बताउँछन्। भारतबाट आएका कपडा तथा अन्य सामानको जाँच र छाप लगाएपछि व्यापारीले आफ्नो कारोबार अघि बढाउँथे। 

सुनौली–बुटवल सडकको विकास र पछि सिद्धार्थ राजमार्गको विस्तारले भैरहवाको व्यापारलाई नयाँ गति दियो। तराईको सीमावर्ती बजार बुटवल हुँदै पहाडी क्षेत्रसँग जोडिएपछि सामान ढुवानी सहज हुन थाल्यो। यसले व्यापारको पुरानो केन्द्र परिवर्तन गर्ने आधार तयार गर्‍यो।

पहिले गल्ला र घ्यूको कारोबारमा बुटवलको प्रभाव बढी थियो। किसानले धान–चामल बिक्री गर्न बुटवल पुग्नुपथ्र्यो। सडक र व्यापारिक सम्पर्क विस्तारसँगै भैरहवामा गल्ला कारोबार बढ्यो। कृषि उपज यहीँ संकलन हुन थाल्यो र यहाँबाट अन्य सहर तथा भारततर्फ पठाउन थालियो। 

सडकले यातायात मात्र सहज बनाएन, बजारको भूगोलसमेत बदल्यो। सामानको कारोबार बढेसँगै गोदाम, पसल, ढुवानी सेवा र आवासीय बस्ती विस्तार भए। भैरहवा क्षेत्रीय व्यापारिक केन्द्रका रुपमा स्थापित हुने प्रक्रिया यहीँबाट तीव्र बन्यो।

तोरीको तेलदेखि चामल निर्यातसम्म

भैरहवाको औद्योगिक पहिचानको जग कृषि उपजको प्रशोधनमा थियो। यस क्षेत्रमा धान, तोरी र आलसको उत्पादन राम्रो हुने भएकाले तेल र चामल उद्योग विस्तारको सम्भावना थियो।

पुराना व्यवसायी अग्रवालका अनुसार, वि.सं. २०११ सालमा गौरी आयल मिल स्थापना भएपछि भैरहवामा तोरीको तेल उत्पादनले गति लियो। पहिले यहाँको तोरी नौतनवा लगेर प्रशोधन गरिन्थ्यो र तेल फेरि नेपाल ल्याइन्थ्यो। स्थानीयस्तरमै मिल सञ्चालन भएपछि उत्पादन लागत घटाउने र भारततर्फ तेल पठाउने सम्भावना बढ्यो। 

त्यसपछि चामल मिल र प्लास्टिक उद्योग पनि थपिँदै गए। धान–चामलको कारोबार विस्तार भएपछि भैरहवा निर्यात व्यापारको केन्द्र बन्यो। यहाँबाट ट्रकमा चामल नौतनवाको रेलवे मालगोदामसम्म पुर्‍याइन्थ्यो। त्यहाँबाट रेलमार्फत भारतका विभिन्न सहरसम्म सामान पठाइन्थ्यो।

“त्यतिबेला यहाँबाट चामल भारतका टाढाटाढाका बजारसम्म जान्थ्यो,” अग्रवाल भन्छन्, “ट्रकमा सामान पुर्‍याएर रेलका डिब्बामा लोड गरिन्थ्यो। व्यापार राम्रो थियो।”

उनका अनुसार, धान–चामलसँगै तोरीको तेल र घ्यूको कारोबार पनि उल्लेख्य थियो। दाङ, तुलसीपुर, नवलपुरलगायत क्षेत्रबाट तोरी ल्याइन्थ्यो। स्थानीय उद्योगमा प्रशोधन गरेर बजारमा पठाइन्थ्यो। बुटवल घ्यूको कारोबारको केन्द्र थियो र त्यहाँबाट भारतीय बजारमा घ्यू जाने गथ्र्यो। 

इतिहासकार विजय सागरका अनुसार, भैरहवामा धान–चामल निर्यात कम्पनी, चिनी मिल र कपडा उद्योगजस्ता उद्योग सञ्चालनमा थिए। कृषि उपजमा आधारित उत्पादन नेपालभित्र मात्र सीमित नभई बंगलादेश, श्रीलंका, मलेसिया र अमेरिकासम्म पुगेको उनको भनाइ छ। 

भैरहवाको त्यो आर्थिक इतिहासले स्थानीय उत्पादन र प्रशोधन उद्योगको महत्व देखाउँछ। किसानले उत्पादन गर्ने, उद्योगले प्रशोधन गर्ने र व्यापारिक सञ्जालले बजारसम्म पुर्‍याउने चक्रले रोजगारी र आम्दानी सिर्जना गरेको थियो। 

तर यो चक्र लामो समय टिक्न सकेन।

नीतिगत परिवर्तनसँगै खुम्चिएको उत्पादन

अग्रवालका अनुसार, सरकारी नीतिमा बारम्बार हुने परिवर्तन, कच्चा पदार्थको अभाव र आयातमा बढ्दो निर्भरताले स्थानीय उद्योगलाई कमजोर बनाउँदै लग्यो। कृषि उत्पादन घट्दै गएपछि उद्योगलाई आवश्यक धान, तोरी र अन्य कच्चा पदार्थको आपूर्ति कठिन भयो। विदेशबाट सस्तो सामान आउन थालेपछि स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेन। 

“पहिले हामी यहाँ उत्पादन गरेर भारत पठाउँथ्यौँ। अहिले बाहिरबाट सामान ल्याएर यहीँ बेच्ने अवस्था आयो,” उनी भन्छन्, “यहाँको उत्पादन बढाउन सकेनौँ भने उद्योगले कसरी निर्यात गर्छ ?”

उनको अनुभवमा आयातमा आधारित बजारले स्थानीय किसानलाई समेत असर पारेको छ। विदेशबाट सस्तो कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने प्रवृत्ति बढ्दा स्वदेशी कृषि उत्पादनको माग कमजोर भएको छ। यसले किसानको उत्पादन बढाउने उत्साह घटाएको र स्थानीय उद्योगको निर्यात सम्भावना खुम्च्याएको उनको तर्क छ।

इतिहासकार सागरले पनि राजनीतिक खिचातानी, द्वन्द्व र नीतिगत अस्थिरताले उद्योगधन्दाको विकासमा असर पारेको बताउँछन्। 

यद्यपि भैरहवाको औद्योगिक विकास पूर्ण रुपमा रोकिएको छैन। पछिल्लो समय सिमेन्ट, स्टिल, जस्तापाता र अन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु विस्तार भएका छन्। कुनै समय भारतबाट आयात हुने कतिपय वस्तु अहिले नेपालमै उत्पादन भएर भारतीय बजारसम्म पुग्न थालेका छन्।

शिक्षा, स्वास्थ्य र सेवाको केन्द्र

भैरहवाको विकास व्यापार र उद्योगमा मात्र सीमित रहेन। शिक्षा तथा स्वास्थ्य सेवाको विस्तारले पनि यसलाई क्षेत्रीय केन्द्रका रुपमा स्थापित गर्‍यो।

अग्रवालका अनुसार, उनका दाजुहरु पढ्न नौतनवा जानुपथ्र्यो, किनकि त्यसबेला भैरहवामा विद्यालयको सुविधा थिएन। स्थानीय विद्यार्थीले भारत जानुपर्ने बाध्यता हटाउन उनका बुबा नथमल अग्रवालले वि.सं. २००९ सालमा चार–पाँच कोठाको भवन बनाएर भैरहवा हाइस्कुल स्थापना गर्न सहयोग गरेका थिए। प्राथमिक तहबाट सुरु भएको विद्यालय क्रमशः माध्यमिक तहसम्म विस्तार भयो।

यो प्रसंगले भैरहवाको सामाजिक विकासमा स्थानीय व्यवसायी र समुदायको योगदान देखाउँछ। व्यापारबाट आम्दानी गर्ने परिवारले शिक्षा र सार्वजनिक संस्थाको विकासमा लगानी गर्दा सहरको सामाजिक आधार पनि बलियो हुँदै गयो। अहिले भैरहवाको साक्षरता दर ८६.१ प्रतिशतर पुगेकोछ। 

स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेजज, सिद्धार्थनगर सिटी अस्पताल स्ता संस्थाले भैरहवालाई उपचारको गन्तव्य बनाउन सहयोग गरेका छन्। रुपन्देहीसहित आसपासका जिल्लाबाट बिरामी आउँदा स्वास्थ्य सेवा मात्र होइन, होटल, भोजनालय, यातायात, औषधि पसल र अन्य व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ।

शिक्षा र स्वास्थ्य सेवाको विस्तारले भैरहवाको अर्थतन्त्रलाई कृषि व्यापार र उद्योगभन्दा बाहिर विविधीकरण गरेको छ। यही विविधीकरणले यसलाई आसपासका गाउँ तथा बस्तीका लागि सेवा केन्द्र बनाएको छ। 

अन्तर्राष्ट्रिय विमानस्थल ः सम्भावना ठूलो, लाभको प्रतीक्षा

भैरहवाको आधुनिक विकासमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा महत्वपूर्ण पूर्वाधारमध्ये एक हो। लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सीधै यस क्षेत्रमा ल्याउने, पर्यटन व्यवसाय विस्तार गर्ने र विदेशी लगानी आकर्षित गर्ने अपेक्षासहित विमानस्थल निर्माण गरिएको हो। 

यससँगै बेलहिया–बुटवल छ लेनको व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी सडक, विशेष आर्थिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगले आर्थिक गतिविधि बढाउने आधार तयार गरेका छन्।

तर अग्रवालको बुझाइमा विमानस्थलले अपेक्षित लाभ जनतासम्म पुर्‍याउन सकेको छैन। ठूलो लगानीमा बनेको पूर्वाधार सञ्चालन र उपयोगमा प्रभावकारी योजना आवश्यक रहेको उनी बताउँछन्। 

“अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, सरकारले धेरै लगानी गर्‍यो। तर त्यसको लाभ जनताले पाउन सकेका छैनन्,” उनी भन्छन्। 

विमानस्थललाई आर्थिक विकाससँग जोड्न नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटकको आगमन, होटल तथा यातायात सेवाको विस्तार र लुम्बिनीसहित आसपासका गन्तव्यको प्रभावकारी प्रचार आवश्यक छ। विमानस्थल सञ्चालन हुनु मात्र पर्याप्त हुँदैन; त्यसबाट सिर्जना हुने अवसर स्थानीय व्यवसायी, श्रमिक र समुदायसम्म पुग्नुपर्छ। 

भैरहवाको सीमावर्ती अवस्थिति पनि यसको विशेष आर्थिक शक्ति हो। बेलहिया नाकाबाट हुने आयात–निर्यातले भन्सार, ढुवानी, गोदाम, बैंकिङ, बीमा र अन्य सेवा व्यवसायलाई आधार दिएको छ। 

विकासका तथ्यांक र सहरी सेवाको चुनौती

भैरहवाको विकासलाई सडक र ठूला भवनका आधारमा मात्र हेर्न मिल्दैन। बढ्दो जनसंख्यालाई खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, सार्वजनिक खुला क्षेत्र र व्यवस्थित आवास उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण छ।

नगरपालिकाको उपलब्ध प्रगति विवरणमा आर्थिक वर्ष २०८१÷८२ सम्म सडक कालोपत्रे तथा ढलान १६.६५४ किलोमिटर, ग्राभेल सडक १९.०३७ किलोमिटर र ढल तथा नाला निर्माण १५.१७९ किलोमिटर उल्लेख छ। आर्थिक वर्ष २०८२÷८३ को विवरणमा क्रमशः २ किलोमिटर, ४.९ किलोमिटर र २.०५ किलोमिटर प्रगति देखाइएको छ। 

त्यस्तै, खानेपानी सेवाबाट लाभान्वित घरपरिवारको संख्या १५५ उल्लेख छ। विद्यालय भवन निर्माण २५, सामुदायिक भवन १२ तथा पार्क निर्माण ५ वटा भएको नगरपालिकाको तथ्यांक छ। नगरपालिकामा १९ वटा सार्वजनिक शौचालय, १ वटा ज्येष्ठ नागरिक गृह, कान्जी हाउस १ वटा, १ वटा खेलकुद मैदान १ वटा कभर्ड हल। मनोरञ्जन पार्क २ वटा शिशु क्रिडास्थल १ वटा र पर्यापर्यटन स्थल २ वटा रहेको तथ्यांकमा उल्लेख छ। 

तथ्यांकले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—व्यापारिक र औद्योगिक गतिविधि बढ्दै गएको सहरमा आधारभूत सहरी सेवा पनि सोही गतिमा विस्तार भएका छन् कि छैनन् ?

बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ढल निकास, फोहोर व्यवस्थापन र सार्वजनिक स्थलको अभावलाई योजनाबद्ध रुपमा सम्बोधन गर्न आवश्यक छ। सडक विस्तारसँगै पैदलयात्रीको सुरक्षा, साइकलमैत्री पूर्वाधार र हरियाली क्षेत्रको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिनुपर्छ।

पुराना बस्तीको इतिहास, स्थानीय संस्कृति र सम्पदाको अभिलेखीकरणले भैरहवाको पहिचान जोगाउन सहयोग पुर्‍याउन सक्छ। आधुनिक सहर बन्ने क्रममा पुराना बस्ती र तिनको सामाजिक इतिहास हराउनु हुँदैन।

अबको भैरहवा ः व्यापारभन्दा माथि उठेको विकास

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ; अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य सेवा र पर्यटनको सम्भावना छ। 

नारायणप्रसाद अग्रवालका लागि भैरहवाको भविष्य उज्यालो छ, तर त्यो भविष्य स्थानीय उत्पादन र रोजगारीसँग जोडिनुपर्छ। किसानले उत्पादन बढाउन सक्ने वातावरण, उद्योगले प्रतिस्पर्धी लागतमा उत्पादन गर्न पाउने नीति र स्थानीय श्रमिकले रोजगारी पाउने अवस्था आवश्यक रहेको उनको भनाइ छ। 

“देशका मानिसले उन्नति गरे देशको विकास आफैँ हुन्छ,” उनी भन्छन्, “देशको पैसा बाहिर जानेभन्दा बाहिरबाट पैसा भित्रिने वातावरण बनाउनुपर्छ।”

उनको यो भनाइ भैरहवाको आर्थिक विकासका लागि महत्वपूर्ण सन्देश हो। उद्योग स्थापना, सडक निर्माण र विमानस्थल सञ्चालनको अन्तिम उद्देश्य स्थानीय अर्थतन्त्र बलियो बनाउनु, रोजगारी सिर्जना गर्नु र नागरिकको जीवनस्तर सुधार्नु हुनुपर्छ।

विश्व शहरीकरण दिवसको सन्दर्भमा भैरहवाको यात्राले एउटा स्पष्ट पाठ दिन्छ—सहरको विकास भनेको जनसंख्या र भवनको संख्या बढ्नु मात्र होइन। त्यसले उत्पादन बढाउनुपर्छ, अवसर सिर्जना गर्नुपर्छ र नागरिकलाई सुरक्षित तथा सम्मानजनक जीवन दिनुपर्छ। 

कुनै समय ढुंगैढुंगाको बाटो, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने सम्भावनासहित अघि बढिरहेको छ। अबको चुनौती त्यसलाई व्यवस्थित, समावेशी र उत्पादनमुखी सहर बनाउनु हो। लुम्बिनीको प्रवेशद्वार र नेपाल–भारत व्यापारको केन्द्रका रुपमा रहेको भैरहवाले आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक आर्थिक अवसरसँग जोड्न सक्यो भने यसको विकास स्थानीय उपलब्धिमा मात्र सीमित रहने छैन; यसले समग्र नेपालको अर्थतन्त्रलाई समेत बलियो बनाउन योगदान पुर्‍याउनेछ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे
रिजन ढकालले पाए कार
आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री शाहको घोषणा
सम्बन्धित सामग्री
नास–आईटी एक्स्पो २०२६ सुरु, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि उद्योगमा आबद्ध कम्पनीका साझा समस्या समाधान, अवसरको पहिचान र बजार विस्तारका... शनिबार, मंसिर ५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, मंसिर ५, २०८३
नेप्से ७ अंकले घट्यो शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर ०.२८ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री शाहको घोषणा शनिबार, मंसिर ५, २०८३
दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो शनिबार, मंसिर ५, २०८३
जर्ज मुन्जीको आक्रामक शतक शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त शनिबार, मंसिर ५, २०८३
कुटिएका वृद्धको उपचारका क्रममा मृत्यु, कुटपिटमा संलग्नताको आरोपमा युवक पक्राउ शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्