सर्लाही — सर्लाहीमा कुटपिटबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपूर्वा नगरपालिका–९, बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा सानो किराना पसल सञ्चालन गर्दै आएका ७४ वर्षीय सुकदेव साह र उनकी ७३ वर्षीया श्रीमती जिपिसी देवीमाथि कुटपिट भएको थियो।
२०८३ कात्तिक २८ गते बिहान ढिलासम्म नउठेपछि उनीहरूका जेठा छोरा घरमा पुगेर ढोका खोली हेर्दा दुवै जना टाउको र अनुहारमा गम्भीर चोट लागेर घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले तत्काल उद्धार गरी दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो।
घटनाको अनुसन्धानका क्रममा हरिपूर्वा नगरपालिका–९ बसन्तपुरकै १९ वर्षीय शंकरकुमार यादवले कात्तिक २७ गते राति करिब १० बजे घरभित्र प्रवेश गरी सुतिरहेको अवस्थामा वृद्ध दम्पतीमाथि इँटाको टुक्राले टाउको तथा अनुहारमा अन्धाधुन्ध प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका यादवलाई कात्तिक २८ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। उनलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
घाइते तेलीको उपचारका क्रममा मंसिर ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्युपछि पक्राउ परेका यादवमाथि ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति लागूऔषध गाँजा सेवनकर्ता रहेको र मृतक तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि गाँजा किनबेच गर्ने क्रममा विवाद उत्पन्न भएपछि रिसइबी साँधी कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।