काठमाडौं– उपचार गर्न कठिन मानिने प्यान्क्रियाजको क्यान्सरविरुद्ध नयाँ औषधिले आशा जगाएको छ । दैनिक एकपटक सेवन गर्नुपर्ने ‘डाराक्सोन्रासिब’ नामक औषधिले केही बिरामीमा ट्युमरको आकार घटाउनुका साथै स्क्यानमा क्यान्सर नै नदेखिने अवस्थासमेत सिर्जना गरेको प्रारम्भिक परीक्षणले देखाएको छ ।
विशेषज्ञहरूले यसलाई प्यान्क्रियाजको क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण प्रगतिका रूपमा व्याख्या गरेका छन् ।
प्रारम्भिक परीक्षणमा केमोथेरापीसँगै डाराक्सोन्रासिब औषधि सेवन गरेका प्रत्येक १२ बिरामीमध्ये एक जनाको स्क्यानमा क्यान्सर देखिएन । परीक्षणमा सहभागी ६१ बिरामीमध्ये लगभग सबैको ट्युमर बढ्ने क्रम रोकिएको पाइएको छ ।
परीक्षणमा सहभागी सबै बिरामीलाई हालै शरीरका अन्य भागमा समेत फैलिएको उन्नत अवस्थाको प्यान्क्रियाजको क्यान्सर भएको पत्ता लागेको थियो ।
तर चिकित्सकहरूले औषधिको प्रभाव कति समयसम्म कायम रहन्छ भन्ने अझै स्पष्ट नभएको बताएका छन् । स्क्यानमा क्यान्सर नदेखिनुलाई पूर्ण रूपमा निको भएको अवस्था मान्न नमिल्ने उनीहरूको भनाइ छ ।
दशकौँपछि देखिएको महत्त्वपूर्ण प्रगति
क्यान्सर रिसर्च यूकेले यो नतिजालाई प्यान्क्रियाजको क्यान्सर उपचारमा दशकौँयताकै ठूलो उपलब्धिमध्ये एक भनेको छ ।
संस्थाका चिकित्सक साम गडफ्रेले बीबीसीसँग कुरा गर्दै नयाँ औषधिको नतिजा उत्साहजनक रहेको बताएका छन् ।
उनका अनुसार अहिलेसम्म औषधिबाट नियन्त्रण गर्न कठिन मानिएको क्यान्सरको एउटा महत्त्वपूर्ण जैविक प्रक्रियालाई लक्षित गरेर नियन्त्रण गर्ने उपाय फेला परेको छ ।
प्यान्क्रियाजको क्यान्सर उपचार निकै चुनौतीपूर्ण मानिन्छ । बेलायतमा प्रमुख क्यान्सरका प्रकारमध्ये यस रोगका बिरामीको बाँच्ने दर सबैभन्दा कम रहेको छ ।
केमोथेरापीबाट ट्युमरको आकार केही घटाउन सकिए पनि धेरैजसो अवस्थामा क्यान्सर पुनः बढ्न थाल्छ । रोग शरीरका अन्य भागमा फैलिसकेको अवस्थामा अधिकांश बिरामी केही महिना मात्रै बाँच्ने गरेका छन् ।
नयाँ उपचारले क्यान्सर पूर्ण रूपमा निको पार्न नसके पनि बिरामीको आयु लम्ब्याउन र रोग नियन्त्रणमा राख्न सहयोग पुग्ने चिकित्सकहरूको अपेक्षा छ ।
परीक्षणमा सहभागी बिरामीलाई औसत डेढ वर्षसम्म निगरानी गरिएको थियो । यस अवधिमा केही बिरामीमा क्यान्सर पुनः देखिएन । तर क्यान्सर लामो समयसम्म नियन्त्रणमा रहन्छ वा पूर्ण रूपमा निष्क्रिय अवस्थामा पुग्छ भन्ने यकिन गर्न थप अध्ययन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।
ट्युमर नियन्त्रणको अवधि दोब्बर भएको दाबी
अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सक वुङ्की पार्क पनि उक्त परीक्षणमा सहभागी थिए ।
उनले अहिलेसम्म प्राप्त नतिजा निकै उत्साहजनक रहेको बताएका छन् । उनका अनुसार नयाँ औषधिको प्रयोगबाट उपचारमा प्रतिक्रिया देखाउने बिरामीको अनुपात मात्रै बढेको छैन, उपचारको प्रभावकारिता र रोग नियन्त्रणमा रहने अवधि पनि उल्लेखनीय रूपमा सुधार भएको छ ।
पार्कका अनुसार रोग नियन्त्रणमा रहने अवधि यसअघिको तुलनामा करिब दोब्बर भएको छ । यसले भविष्यमा बिरामीको दीर्घकालीन जीवन सम्भावना बढाउन सक्ने अपेक्षा गरिएको छ ।
डाराक्सोन्रासिब एक प्रकारको लक्षित उपचार (टार्गेटेड इनहिबिटर) औषधि हो । यसले आरएएस (RAS) नामक जीनमा हुने निश्चित उत्परिवर्तनलाई लक्षित गरी त्यसको सक्रियता रोक्ने काम गर्छ ।
प्यान्क्रियाजको क्यान्सरका अधिकांश बिरामीमा यस्ता उत्परिवर्तन पाइने गर्छन् । यसले ट्युमरको वृद्धि र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
फोक्सो र डिम्बाशयको क्यान्सरलगायत अन्य केही प्रकारका क्यान्सरमा पनि यस्तै उत्परिवर्तन देखिने भएकाले भविष्यमा यो औषधि अन्य क्यान्सरका बिरामीका लागि समेत उपयोगी हुन सक्ने अनुसन्धानकर्ताहरूको अपेक्षा छ ।
क्यान्सर रिसर्च यूकेका चिकित्सक गडफ्रेले प्यान्क्रियाजको क्यान्सरमा देखिएको प्रारम्भिक सफलतालाई अन्य क्यान्सरको उपचारमा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको बताएका छन् । तर त्यसका लागि थप परीक्षण र दीर्घकालीन अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
स्क्यानमा क्यान्सर नदेखिँदैमा पूर्ण निको भएको मानिँदैन
युरोपमा आयोजित ईओआरटीसी–एनसीआई–एएसीआर सिम्पोजियम २०२६ की अध्यक्ष प्राध्यापक एलेना गाराल्डाले पनि परीक्षणको नतिजा उत्साहजनक रहेको बताएकी छन् ।
उनका अनुसार दुवै उपचार पद्धति एकैसाथ प्रयोग गर्दा बिरामीको समग्र बाँच्ने अवधि बढ्न र ट्युमर पुनः बढ्न लाग्ने समय लम्बिन सक्ने संकेत देखिएको छ ।
तर चिकित्सकहरूले क्यान्सर पुनः फर्किन सक्ने सम्भावनालाई बेवास्ता गर्न नहुने बताएका छन् । स्क्यानमा क्यान्सरको कुनै संकेत नदेखिनुको अर्थ शरीरबाट क्यान्सर पूर्ण रूपमा समाप्त भएको भन्ने नहुने उनीहरूको भनाइ छ ।
त्यसैले नयाँ औषधिले कति समयसम्म प्रभावकारी रूपमा काम गर्छ र बिरामीलाई दीर्घकालीन लाभ दिन सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अनुसन्धान आवश्यक छ ।
प्यान्क्रियाजको क्यान्सर कति घातक ?
अमेरिकामा देखिने कुल क्यान्सरका घटनामध्ये करिब तीन प्रतिशत प्यान्क्रियाजको क्यान्सरका छन् । तर क्यान्सरका कारण हुने कुल मृत्युमध्ये करिब आठ प्रतिशत यही रोगका कारण हुने गरेको तथ्यांक छ । अमेरिकामा हरेक वर्ष यस रोगबाट करिब ५३ हजार मानिसको मृत्यु हुने गरेको छ ।
क्यान्सर रिसर्च यूकेका अनुसार बेलायतमा हरेक वर्ष करिब ११ हजार ५०० जनामा प्यान्क्रियाजको क्यान्सर देखिन्छ भने झन्डै १० हजार २०० जनाको यसैका कारण मृत्यु हुने गरेको छ ।
अभिनेता एलन रिकम्यानको पनि सन् २०१६ मा यही रोगका कारण मृत्यु भएको थियो । उनलाई क्यान्सर भएको पत्ता लागेको पाँच महिनापछि निधन भएको थियो ।
यस रोगका प्रमुख लक्षणमा छाला र आँखा पहेँलो हुनु (जन्डिस), छाला चिलाउनु, पिसाबको रङ गाढा हुनु, दिसाको रङ हल्का हुनु, बिना कारण तौल घट्नु, थकान र उच्च ज्वरो आउनु रहेका छन् ।
प्रारम्भिक अवस्थामा लक्षण स्पष्ट नदेखिन सक्ने भएकाले यो क्यान्सर पत्ता लाग्दा धेरै बिरामीमा रोग फैलिइसकेको हुने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।