काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ गतेदेखि प्रारम्भ हुने मित्रराष्ट्र भारतको भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने कामना व्यक्त गरेको छ। कांग्रेसले दुई मित्रराष्ट्रबीचको सम्बन्ध प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी बन्नुपर्नेमा जोड दिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार जारी गरेको शुभकामना वक्तव्यमा राष्ट्रिय महत्त्वका भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षलगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने लोकतान्त्रिक परम्परालाई वर्तमान सरकारले निरन्तरता दिनुपर्ने अपेक्षा गरिएको उल्लेख छ।
कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको वक्तव्यमा छ।
नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन नेपाली कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै शर्माले सम्बन्धका सम्भावना, अवसर र व्यवहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको बताएका छन्। यही आधारमा प्रधानमन्त्रीको भ्रमणलाई सकारात्मक बल पुर्याउने योजना र तत्परता रहेको उनको भनाइ छ।
तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल तथा विषयविज्ञहरूसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको गुनासो छ। राष्ट्रिय महत्त्वको भ्रमणअघि साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनसमेत सरकारले आवश्यक नठानेपछि नमागिएको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित नठानेको वक्तव्यमा उल्लेख छ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने जनाएको छ। सरकारले यो वास्तविकता आत्मसात गर्न नसकेको कांग्रेसको टिप्पणी छ।
यद्यपि, सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणका सम्भावित विषयवस्तुसँग जोडेर हेर्न नचाहेको कांग्रेसले जनाएको छ। सरकारसँग विविध असहमति भए पनि नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसको भनाइ छ।
कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नबनोस् भन्ने अपेक्षा गरेको छ। विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न भ्रमण उपयोगी हुनुपर्नेमा जोड दिएको छ।
भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने कांग्रेसले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।