काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)लाई देशव्यापी बनाउँदै क्लबहरूलाई आफ्नै घरेलु मैदान उपलब्ध गराउने योजना सरकारले अघि सारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आठवटै फ्रेन्चाइज टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।
एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले पूर्वाधार निर्माणको तयारी थालेको प्रधानमन्त्री शाहले बताएका हुन्। उनका अनुसार रंगशाला निर्माणको जिम्मेवारी सरकारअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयले लिनेछ।
प्रधानमन्त्री शाहले एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि पूर्वाधार विस्तारलाई प्राथमिकता दिने बताएका छन्। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र बाँकी रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने उनको भनाइ छ।
सरकारको योजनाअनुसार आठ क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान विकास गरिनेछ। विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौँ गुर्खाजले कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सले पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सले रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्ने गरी विकास गरिने योजना छ।
यी रंगशालामा फ्लडलाइट जडान भएपछि रात्रीकालीन खेल सञ्चालन गर्नसमेत सहज हुनेछ। होम एन्ड अवे प्रणाली लागू हुँदा एनपीएलका खेल काठमाडौंमा मात्रै सीमित नरही विभिन्न सहरमा पुग्नेछन्। यसले स्थानीय दर्शकलाई आफ्नै सहरमा खेल हेर्ने अवसर दिनुका साथै क्रिकेटसँग सम्बन्धित व्यापार, पर्यटन र अन्य आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ।
सरकारको यो घोषणाले एनपीएललाई नियमित प्रतियोगिताका रूपमा मात्र नभई देशका विभिन्न क्षेत्रमा क्रिकेटको व्यावसायिक संरचना विस्तार गर्ने योजनाका रूपमा अघि बढाउने संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।