काठमाडौं। स्याङ्जाको वालिङमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बलका लागि अधिग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ। विद्यालयको सहमतिबिना जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले शुक्रबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेसमक्ष विरोधपत्र बुझाएको छ।
गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
वालिङ र आसपासका क्षेत्रको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर २०६० सालमा स्थापना गरिएको सशस्त्र प्रहरी बलको जग्गा व्यवस्थापनका लागि उक्त निर्णय गरिएको हो।
तर विद्यालयले भने जग्गा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ। दाताबाट प्राप्त उक्त जग्गामा भविष्यमा मेडिकल, वनविज्ञान, इन्जिनियरिङ, कृषि तथा बायोइन्जिनियरिङलगायत विषयका कक्षा सञ्चालन गर्ने योजना रहेकाले अधिग्रहण गर्न नहुने विद्यालयको भनाइ छ।
विद्यालयको सहमतिबिनै अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै प्रशासनसमक्ष आपत्ति जनाइएको हो।
यस विषयमा प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले भने अधिग्रहणको प्रारम्भिक प्रक्रिया मात्रै सुरु भएको बताएका छन्।
उनका अनुसार सशस्त्र प्रहरी उपरीक्षकको प्रतिवेदन प्राप्त भएपछि १५ दिने सार्वजनिक सूचना जारी गरिनेछ। उक्त अवधिमा प्राप्त हुने सुझाव तथा उजुरीका आधारमा आफ्नो रायसहितको फाइल गृह मन्त्रालयमा पठाइने उनले जानकारी दिएका छन्।
विद्यालयले भविष्यमा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजनासहित जग्गा संरक्षण गर्नुपर्ने अडान राखेपछि अब अधिग्रहण प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।