रसुवा- रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम धुन्चे ल्याइएको छ।
सदरमुकामबाट करिब २ दिनको पैदलयात्रापछि पुग्न सकिने लाङटाङबाट आज बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो। ४५ वटा मतदान केन्द्र रहेको रसुवामा ४४ मतदान केन्द्रका मतपेटिका भने आइतबार राति नै संकलन गरी सदरमुकाम ल्याइसकिएको छ।

नजिक रहेको मतदान केन्द्रबाट मतदान सकिएलगत्तै मुचुल्का गरेर मतपेटिका ल्याइएको भए पनि सडक नपुगेको क्षेत्रबाट भने ढिलोगरी सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यार्सा, हाकु, नेसिङ लगायतको क्षेत्रबाट करिब ३ घन्टा पैदल यात्रापछि मतपेटिका गाडी भएको ठाउँमा पुर्याइएको थियो। गाडीमा राखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको स्कर्टिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको हो।

कार्यालयमा आइपुगेका सबै मतपेटिका बुझिसकिएको र शिल लगाएर सुरक्षित स्थानमा राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।
३४ मतदानस्थल र ४५ मतदान केन्द्र रहेको रसुवामा आइतबार भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८० दशमलव ७३ प्रतिशत मत खसेको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।