काठमाडौं– सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गराउने र पत्रकारलाई पक्राउ गर्ने घटनाप्रति नेकपा एमालेले विरोध जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भयको वातावरण सिर्जना गर्ने सरकारी कदमको भर्त्सना गरेका हुन् ।
उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको बताएका छन् ।
‘कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन,’ आचार्यले विज्ञप्तिमा भनेका छन् ।
उनले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारका गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल रोक्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।
सरकारको कदमलाई अलोकतान्त्रिक र दमनकारी भन्दै आचार्यले त्यसको निन्दा तथा भर्त्सना गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।