काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा धरपकडको प्रयास गरिएको घटनाको घोर भर्त्सना गरेका छन्।
परियारले पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटना र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको घटनाप्रति आपत्ति जनाउँदै यसलाई ‘पुलिस स्टेट’ अर्थात् ‘प्रहरी राज’ उन्मुख शैलीको संज्ञा दिएका छन्।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व राज्यको भए पनि प्रहरीको पछिल्लो शैली लोकतान्त्रिक राज्यको सामान्य चरित्र नभएको उनको भनाइ छ।
‘पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोसाकका प्रहरी जत्थाको जंगे शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन,’ परियारले भनेका छन्।
विदाको मुखैमा गरिएको प्रहरीको उक्त गतिविधि छानबिनयोग्य रहेको उल्लेख गर्दै उनले सरकारसँग ‘मिडिया धरपकड प्रकरण’ को विशेष छानबिन गर्न माग गरेका छन्।
पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषयको निरूपण प्रेस काउन्सिल नेपालमार्फत गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।