काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले कानुनविपरीत पत्रकार पक्राउ गर्ने र उनीहरूमाथि अनावश्यक ‘ह्यारेसमेन्ट’ गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको कांग्रेसले जनाएको छ। विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै कांग्रेसले त्यस्ता निरङ्कुश प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक विषय भएको बताएको छ।
कांग्रेसले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरेको छ। पार्टीले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो अडान निरन्तर कायम रहने पनि स्पष्ट पारेको छ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको अवस्थामा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको जनाएको छ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई कमजोर बनाउँदै कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु भएको कांग्रेसको ठहर छ। सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यस्तो दमनकारी कदम निन्दनीय र आपत्तिजनक रहेको भन्दै कांग्रेसले घटनाको कडा शब्दमा भर्त्सना गरेको छ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।