काठमाडौं– सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा पक्राउको प्रयास गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले मौन धर्ना दिने भएका छन् ।
महासंघका पूर्वपदाधिकारीहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार बिहान ८ बजेदेखि एक घण्टा काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी परिचालन गरेर त्रास सिर्जना गर्ने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भनेका छन् ।
विज्ञप्तिमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र अर्का पत्रकार शोभराज बराललाई उनीहरू कार्यरत सञ्चारगृहबाटै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाइएको छ । त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली र दियोपोस्टका पत्रकार सुदीप विश्वकर्मालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको विषयले पनि गम्भीर बनाएको उनीहरूको भनाइ छ ।
पूर्वपदाधिकारीहरूले सरकारको यस्तो शैलीलाई लोकतान्त्रिक मूल्य, संविधानप्रदत्त मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत भएको उल्लेख गरेका छन् । उनीहरूले यसलाई ‘नवतानाशाही’ शैलीको संज्ञा दिँदै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चार क्षेत्रलाई आतंकित बनाउने गतिविधि रोक्न माग गरेका छन् ।
प्रकाशित समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपालमा उजुरी दिने, अदालत जाने तथा प्रचलित कानुनअनुसार उपचार खोज्ने वैधानिक बाटा हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकारितालाई नियन्त्रण, भय र दबाबमा राखेर लोकतन्त्र बलियो हुन सक्दैन । स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो भन्ने तथ्य राज्यले बिर्सन मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा आफ्नो संस्थागत भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेका छन् ।
मौन धर्नामा पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वमहासचिवहरू पोषण केसी र उजिर मगर, निवर्तमान महासचिव रोसन पुरीलगायत पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।