काठमाडौं- लगानी सम्मेलन २०७५ आजदेखि काठमाडौंका सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा ४० देशमा उच्चपदस्थ प्रतिनिधिसहित ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन्।
सरकारले विदेशी लगानी आकर्षित गर्न भन्दै यो सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डले लगानीकर्ता माझ ५० वटा सरकारी परियोजनाको खाका प्रस्तुत गर्नेछ भने निजी क्षेत्रका व्यवसायी १७ वटा आयोजनाका लागि विदेशी लगानीकर्तासमक्ष लगानीको खाका प्रस्तुत गर्ने तयारी गरेका छन्।
सरकार तथा निजी क्षेत्रबाट ३० खर्ब रुपैयाँभन्दा बढीको लगानीको अपेक्षा गर्दै ७७ वटा आयोजनाको विषयमा लगानी कर्तासम्क्ष आयोजनाको चिनारीसहित आवश्यक लगानी खाका प्रस्तुत गर्दैछन्।
शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन लागेको लगानी सम्मेलनमा ३ दर्जनभन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने भएका छन्।
सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन सहभागी हुने तय भएको छ।
त्यस्तै विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभुति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्रा्ष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ लीले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरी, माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर, लगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ ।
सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानी अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुको प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवलगायत ७ वटा विषयगत सत्रमा सञ्चालन हुनेछ।
नेपाल सरकारले यस लगानी सम्मेलनमार्फत लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्धनका लागि सरकारले लिएको नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने अपेक्षा लिइएको छ।
यसैगरी लगानी सम्मेलन २०७५मा अर्थमन्त्री युवराज खतिवडा लगायत आधा दर्जन मन्त्रीले समेत सम्बोधन गर्ने तयारी भएको छ। सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ।
सम्मेलनमा करिब डेढ दर्जन नेपाली व्यवसायीले पनि सम्बोधन गर्ने बोर्डले जनाएको छ। सम्मेलनमा सम्बोधन गर्ने नेपाली व्यवसायीहरुमा दुई जना भने महिला पनि छन्। जसमा महासंघकी अध्यक्ष भवानी राणा र द्वारिकाज ग्रुपकी संगीता श्रेष्ठ छिन्।
लगानीबोर्डले सार्वजानिक गरेको वक्ताहरुको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, प्रदीपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, सिएनआईका अध्यक्ष हरिभक्त शर्मा, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान, साझा यातायात पब्लिक ट्रान्सपोर्टेसनका अध्यक्ष कनकमणि दीक्षित छन्।
त्यसैगरी, बिड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्य, पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, हाइड्रो सोलुसनका प्रबन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान छन्। त्यस्तै, सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष अध्यक्ष भवन भट्ट लगायत पनि प्रमुख वक्ताका रुपमा रहेका छन्।
सम्मेलनमा सम्बोधन गर्ने व्यवसायीहरुले नेपालमा लगानी गर्दाको आफ्नो अनुभव सेयर मात्रै गर्ने छैनन्। विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण सहज भएको भन्दै लगानीका लागि आग्रहसमेत गर्ने भएका छन्।
लगानी सम्मेलन- २०७५ का सन्दर्भमा नेपाल लाइभले तयार पारेका विशेष सामग्रीहरू पढ्नुहोस्
लगानी सम्मेलन २०७५ : सम्बोधन गर्ने डेढ दर्जन नेपाली व्यवसायीमा कोको?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४ खर्ब खोज्दै सरकार
लगानी प्रतिबद्धता फलो-अप गर्न नसक्नु मुख्य समस्या हो : नवीन्द्रराज जोशी [अन्तर्वार्ता]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।