काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमा व्यक्तिहरूबीच हुने गालीगलौज र व्यक्तिगत अपमानका हरेक घटनामा काउन्सिलले बोल्नुपर्ने बाध्यता नरहेको बताएका छन्।
समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत्रकारिताको विषय नहुने उनको भनाइ छ।
श्रेष्ठले प्रेस स्वतन्त्रता र पत्रकारिताका नाममा हुने व्यक्तिगत व्यवहारको प्रतिरक्षा गर्नु फरक विषय भएको उल्लेख गरेका छन्। समाचारमा चित्त नबुझे त्यसको समाधानका लागि प्रेस काउन्सिलमा आउनुपर्ने भन्दै उनले सामाजिक सञ्जालमा हुने व्यक्तिगत विवादलाई प्रेस स्वतन्त्रताको मुद्दासँग जोड्न नहुने बताएका छन्।
यसअघि सञ्चार सामग्री जफत गरिएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा काउन्सिलले विरोध गरेको स्मरण गराउँदै उनले अहिलेको घटनाको प्रकृति फरक रहेको बताएका छन्।
उनले प्रहरीका कामकारबाही पनि कानुनसम्मत हुनुपर्ने र कसैको अभिव्यक्ति स्वतन्त्रता तथा कानुनी अधिकार हनन हुन नहुने स्पष्ट पारेका छन्। तर प्रहरीको कामकारबाहीमाथि उठ्ने हरेक प्रश्नको जवाफ प्रेस काउन्सिलले दिनुपर्ने भन्ने तर्क उचित नभएको उनको भनाइ छ।
प्रेस स्वतन्त्रताको रक्षा नाराले नभई सही विषयमा सही अडान लिएर हुने उल्लेख गर्दै श्रेष्ठले काउन्सिल आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा बोल्ने तर अरू निकायको अधिकारक्षेत्रमा प्रवेश गरेर बोल्नकै लागि नबोल्ने बताएका छन्।
समाचारसँग सम्बन्धित विवादमा पत्रकार किशोर श्रेष्ठलाई हिजो छलफलका लागि भन्दै साइबर ब्युरो पुर्याइएको घटनापछि प्रेस स्वतन्त्रता र प्रेस काउन्सिलको भूमिकाबारे बहस भइरहेको छ। श्रेष्ठ र हिमेश पन्तबीचको विवाद प्रेस काउन्सिलमा लैजाने सहमति भएपछि श्रेष्ठ छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।