काठमाडौं– भारतीय ब्रान्ड प्रियागोल्डका बिस्कुटको आयातदेखि बिक्री वितरणसम्म नेपालमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त ब्रान्डका सबै ब्याचका बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।
भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले आयातकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) को निरीक्षणमा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादन प्रक्रिया र कारखानाको सरसफाइमा गम्भीर कमजोरी भेटिएको विवरणका आधारमा नेपालमा पनि प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।
निरीक्षणका क्रममा पशु आहारका रूपमा प्रयोग गरिने चोकर बिस्कुटमा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको थियो। साथै, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत कमजोरी देखिएको जनाइएको छ।
विभागले बजारमा रहेका बिस्कुट तत्काल फिर्ता गरी उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। निर्देशन अवज्ञा गरी बिक्री वितरण गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।