पोखरा– निजी अस्पताललाई शय्या थप्ने अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको डिल गरेको आरोप लागेका गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न नेकपा एमालेको गण्डकी संसदीय समितिले सिफारिस गरेको छ।
एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही सिफारिस गरिएको हो।
समितिले आफ्नो प्रतिवेदन संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ। प्रमुख सचेतक त्रिपाठीका अनुसार पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलले पदीय मर्यादाविपरीत काम गरेको निष्कर्ष समितिले निकालेको छ।
प्रतिवेदनमा उनीहरू एमालेको पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका गतिविधिमा संलग्न रहेको उल्लेख छ। त्यसैगरी प्रदेशसभा संसदीय दलको विधान, २०८० को धारा २७ र मन्त्री नियुक्त हुनुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेको ठहर गर्दै कडा कारबाही गर्न सिफारिस गरिएको हो।
पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको डिल भएको आरोप सार्वजनिक भएपछि एमाले र गण्डकी प्रदेश सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए।
आरोपबारे छानबिनपछि एमालेको संसदीय समितिले पार्टीभित्र कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।