राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ का किसान शम्भु यादवले यस वर्ष १ विघा १० कठ्ठा खेतमा गहुँ बाली लगाउने योजनामा थिए। जोतेर तयार पारेको खेतमा छर्नका लागि गहुँको बिउ खोजी गर्दा कतै नपाएपछि अन्त्यमा उनको १० कठ्ठा खेत बाँझै रह्यो।
सरकारले अनुदानमा दिने भनेको उन्नत जातको बिउ नपाएपछि १ विघा खेतमा पनि उनले घरकै गहुँलाई बिउको रुपमा प्रयोग गरेका हुन्। ‘विकल्प नभएपछि खानका लागि राखेको गहुँलाई नै बिउको रुपमा छरियो’, उनले भने, ‘राम्रो उब्जनी होला भन्ने आस चाहीं छैन।’
पहिला गाउँपालिकामै डिलरमार्फत बिउ आउने सुनेर ढुक्क भएर बस्दा समस्या भोग्नु परेको उनको भनाइ छ।
अर्का किसान रामनाथ यादवले पनि शम्भुकै हाल ब्यहोरे। धानवाली सप्रेका कारण उत्साहित बनेका उनले १० कठ्ठामा गहुँ छर्ने सोचेका थिए। तर, बिउ नपाएका कारण १० कठ्ठामै चित्त बुझाउनु पर्यो।
गहुँको बिउ खोज्दा विष्णुपुर गाउँपालिका–१, खुरहरीयाका तेज नारायण यादको १५ दिन खेर गयो। गाउँका डिलरदेखि साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि ज्ञान केन्द्रसम्म धाउँदा पनि अनुदानको बिउ नपाएपछि उनले पनि खान राखेकै गहुँलाई बिउको रुपमा प्रयोग गरे।
हरेक वर्ष १० कठ्ठामा गहुँबाली लगाउँदै आएका उनको बिउ अभावकै कारण यस वर्ष ५ कठ्ठा जग्गा बाँझै रह्यो।
शम्भु, रामनाथ र तेजनारायण त प्रतिनिधि पात्र मात्रै हुन, यस वर्ष गहुँको बिउ नपाएर सप्तरीका धेरै किसानको खेत बाँझो छ। बाली लगाएको खेतमा पनि कमसल बिउ प्रयोग भएका कारण किसानहरु उब्जनी कम हुने चिन्तामा छन्।
यसअघि जिल्लाका १८ वटै स्थानीय तहका डिलरहरुलाई कृषि ज्ञान केन्द्र, राजविराजमार्फत अनुदानको गहुँको बिउ उपलब्ध गराउने व्यवस्था भएपनि प्रदेश २ को कृषि मन्त्रालयले गत मंसिर ९ गते मात्रै पत्र पठाएर बिउको व्यवस्था गर्न निर्देशन दिएको थियो।

केन्द्रका प्रमुख भागिरथ यादवका अनुसार यस सम्बन्धमा मन्त्रालयबाट ढिलो गरी जानकारी आएका कारण समयमा बिउ किन्न नसक्दा अभाव भएको हो।
‘ढिलै भएपनि हामीले राष्ट्रिय कृषि बिउविजन केन्द्रमा गहुँको बिउका लागि सम्पर्क गर्यौं’, उनले भने, ‘तर, एक दाना पनि बिउ छैन भन्ने जवाफ आयो।’ भदौमै बिउको व्यवस्थाका लागि जुट्नु पर्नेमा मंसिर ९ गते मात्र मन्त्रालयले यसबारे जानकारी दिएपछि अन्त्यमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। २ सय ३० टन बिउ दिने सम्झौता गरेको कर्पोरेसनले अन्तिम समयमा १ सय ५ टन मात्र दिएको र अपुग बिउको व्यवस्था गर्न नसकिएको केन्द्र प्रमुख यादवले बताए।
साल्ट ट्रेडिङले दिएको १ सय ५ टनमध्ये पनि सप्तरीमा ६९ मेट्रिक टन मात्र गाउँपालिका/नगरपालिकाको सिफारिसमा स्थानीय डिलरलाई उपलब्ध गराई बाँकी ३६ मेट्रिक टन सिरहा जिल्ला पठाइएको कृषि ज्ञान केन्द्र राजविराजले जानकारी दिएको छ।
तीन हजार हेक्टर जग्गा बाँझै
दुवै जिल्ला गरी १ हजार ५ सय टन बिउ आवश्यक रहेकोमा १ सय ५ टन बिउ मात्र उपलब्ध हुन सकेको केन्द्र प्रमुख यादवले बताए। भने, ‘१ सय ५ टन बिउ त हात्तीको मुखमा जिराझैं भयो।’
उनले सप्तरीमा ३० हजार हेक्टरमा गहुँ खेती हुने गरेकोमा यस वर्ष बिउ अभावकै कारण २७ हजार हेक्टरमा मात्र गहुँ बाली लगाइएको जानकारी दिए। खेती भएको अधिकांशमा क्षेत्रमा घरमै भण्डारण गरी राखिएको बिउ नै प्रयोगमा ल्याइएको छ।
बिउ अभावकै कारण बाँकी ३ हेक्टर जग्गा भने बाँझो नै रहेको केन्द्रले जनाएको छ।
एक करोड बजेट ‘फ्रिज’
समयमा आवश्यक कार्य सम्पादन गर्न नसकेकै कारण किसानका लागि अनुदानको बिउ किन्न मन्त्रालयले पठाएको रकम ‘फ्रिज’ भएको छ। मन्त्रालयले अनुदानको बिउ किन्न केन्द्रलाई कुल १ करोड ४५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। जसमध्ये ४५ लाखको बिउ किनेर १ करोड रुपमा बाँकी रहेको केन्द्रले जनाएको छ।
‘प्रयास गर्दागर्दै पनि बिउ पाइएन’, केन्द्र प्रमुख यादवले भने, ‘त्यसैले मन्त्रालयले दिएको मध्ये १ करोड रुपैयाँ बाँकी नै रह्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।