काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ दसैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गते सुनुवाइ गर्ने कार्यतालिका तय गरेको हो। असोज २९ गते भने समितिले सुनुवाइसम्बन्धी प्रतिवेदन तयार गरी सिफारिस गर्ने कार्ययोजना बनाएको छ।
बैठकमा चाडपर्व तथा सांसदहरूको जिल्ला भ्रमणलगायतका विषयलाई ध्यानमा राख्दै सुनुवाइ दसैँपछि गर्नुपर्ने मतसमेत उठेको थियो। तर, विभिन्न मुलुकमा राजदूतको अभावले पारेको असर र कूटनीतिक आवश्यकतालाई ध्यानमा राख्दै सुनुवाइ तत्काल अघि बढाउने निर्णय गरिएको हो।
समितिका सभापति वोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध र पाँचवटा उजुरी एक–एक जना व्यक्तिविरुद्ध परेका छन्।
मंगलबारको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी खोलिनुका साथै उनीहरूले पेश गरेका कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिएको छ।
सभापति श्रेष्ठका अनुसार सामान्य प्रकृतिका उजुरीलाई छिटो टुंग्याइनेछ भने गम्भीर प्रकृतिका उजुरीमा आवश्यक परे छुट्टै उपसमिति गठन गरी अध्ययन तथा छानबिन गरिनेछ।
समितिले सुनुवाइलाई औपचारिकतामा मात्र सीमित नगर्ने जनाएको छ। प्रस्तावित राजदूतहरूको बायोडाटा, कार्ययोजना र उनीहरूमाथि परेका उजुरीमाथि गम्भीर अध्ययन गरेर सुनुवाइलाई प्रभावकारी बनाउने समितिको तयारी छ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर राजदूत नियुक्तिको प्रक्रिया छिटो अघि बढाउन खोजिएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।