काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाह (बालेन)ले कांग्रेस सभापति गगनकुमार थापालाई ‘नयाँ दल’ भनेर टिप्पणी गरेको भन्दै त्यसरी नहेपेको भए हुने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ–पुराना दलबीचको मिलन र विछोडका विषयमा चर्चा भएको उल्लेख गरेका छन्।
‘एक तिहाई कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाईला आवाज गुञ्जिएका थिए,’ उनले लेखेका छन्।
उनले त्यसै सन्दर्भमा प्रधानमन्त्री बालेनले गगनलाई ‘नयाँ दल’ भनेर टिप्पणी गरेको उल्लेख गर्दै भनेका छन्, ‘तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यंग्य गर्दै स्टेटस लेखेका थिए। ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै टिप्पणी गरेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुला मञ्चमा उद्घाटन भएको थियो। उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।
‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन। यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन् संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भनेका थिए।
थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।