काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासंद् डा. अमरेशकुमार सिंहले पार्टीको जिम्मेवारी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि नेताहरू नेपाली कांग्रेस छाडेर बाहिरिन बाध्य भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहले कांग्रेसका सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पार्टी छाडेर जानेहरू यत्तिकै बाहिरिएका नभएको दाबी गरेका हुन्।
‘यत्तिकै पार्टी छोडेर गएका होइनन्। तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्,’ सिंहले लेखेका छन्। सिंह कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेले कांग्रेसका मतदाताले रास्वपालाई मत दिएको प्रसंग उठाएका थिए।

त्यसकै प्रतिउत्तरमा कांग्रेस सभापति थापाले आफ्नो पार्टीले मतदाता मात्र नभई सासंदलाई पनि प्रशिक्षित गरेर रास्वपामा पठाएको तर्क गरेका थिए। ‘रविजीले प्रसंग उठाउनुभएको छ। यहाँ भएका साथीहरूले मत हाल्नुभएको छ भन्नुभयो। हामीले मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने ४०–५० जना साथीहरू प्रशिक्षित गरेर पठाएका छौं,’ थापाले भनेका थिए।
थापाले रास्वपाका उपसभापतिदेखि तलसम्म कांग्रेसकै राजनीतिक मञ्चमा सहभागी भएका र विगतमा कांग्रेसको कार्यक्रममा ताली बजाएका धेरै व्यक्ति रहेको दाबी पनि गरेका थिए। ‘रास्वपा उपसभापतिदेखि तलसम्म हेर्नुभयो भने कांग्रेसकै मञ्चमा हिजो ताली बजाएर गएका साथीहरू थुप्रै छन्। हामीले प्रशिक्षित गरेर पठाएका छौं,’ उनले भनेका थिए।
त्यसको जवाफ सिंहले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले कांग्रेसले आफूलाई ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गरे पनि त्यही पार्टीलाई अहिलेको अवस्थामा पुर्याउने जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन्।
‘नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो। तर‚ प्रश्न यो हो– त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो?’ उनले लेखेका छन्।
सिंहले कांग्रेसको इतिहासको गौरव गाएर मात्र नपुग्ने भन्दै वर्तमान अवस्थाको जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्। लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने र त्यही पार्टीको जग आफैं भत्काउने अवस्था विडम्बनापूर्ण रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।