काठमाडौं– ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन,’ शुक्रबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न खोजेको हो भन्ने पत्रकारहरूको जिज्ञासामा यसरी जवाफ फर्काएका थिए।
हो, थापालाई प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र उनका सल्लाहकारहरू पक्राउ गर्न चाहन्थे। गगनको निगरानी गर्न सादा पोसाकका प्रहरी छ्यापछ्याप्ती खटाइएको थियो। तर, पछिल्लो समयमा सरकार गगनलाई पक्राउ गर्ने योजनाबाट पछाडि हटेको प्रधानमन्त्रीनिकटस्थहरूले नेपाललाइभलाई जानकारी दिएका छन्।
उनलाई पक्राउ गर्ने हल्ला चल्नुको प्रमुख कारण यही कात्तिक १३ गते विभिन्न सञ्चारगृहका समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूलाई पक्राउ र धरपकड गरिएपछि उनले दिएको अभिव्यक्ति रहेको जनाइएको छ। समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएपछि गगनले सरकारको चर्को आलोचना गरेका थिए। यतिमात्र होइन, कात्तिक १५ गते पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत पत्रकार पक्राउलगायत अन्य विषयमा पनि उनले तिखो टिप्पणी गरेका थिए।
त्यसैलगत्तै उनीविरुद्ध पक्राउको चर्चा चलेको थियो। थापालाई पक्राउ गर्नकै लागि नेपाल प्रहरीका आईजीपी परिवर्तन गरिएको चर्चा पनि भएको थियो।
नेपाली कांग्रेसले आफ्ना सभापतिमाथि प्रहरीले रेकी गरिरहेको बताएको थियो। यतिमात्र नभएर यसबीचमा बिचौलिया इनम सापकोटासँग गगनलाई जोड्न थालिएको थियो। इनमले कांग्रेसको आधिकारिकताका निम्ति १८ करोड रुपैयाँको डिल भएको भनेको भन्दै अप्रमाणित अडियोसमेत सार्वजनिक भएको थियो। यही विषयलाई आधार बनाएर गगनलाई पक्राउ गर्ने सरकारी योजना बनेको थियो।
तर, घटनाक्रमले प्रधानमन्त्री बालेन र उनको सल्लाहकार समूहको योजनामा तत्कालका लागि ब्रेक लागेको छ। सूत्रहरूका अनुसार, गगन पक्राउबारे प्रधानमन्त्रीले सुरक्षा निकायसँग राय लिएका थिए। त्यस क्रममा गगनलाई पक्राउ गर्दा विपक्षी दलहरू अझ संगठित हुने र सरकारविरुद्ध भीषण आन्दोलन हुन सक्ने सूचना प्राप्त भएको सुनाइएको थियो। त्यसपछि प्रधानमन्त्री हच्किएको जानकारहरू बताउँछन्।
बालेनले गत बिहीबार प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिएका थिए।
सोही दिन भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गरेका थिए। मिश्रीको कार्यतालिकामा विपक्षी दलका नेतासँग भेट्ने तय भएको थिएन। तर, सरकारले पक्राउ सूचीमा राखेको भनिएका प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगनसँग मिश्रीले आकस्मिक रूपमा भेट गरे। यो सूचना प्रधानमन्त्री बालेनसमक्ष पुग्यो। प्रधानमन्त्रीको टोलीले गगनको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि विश्लेषण गर्यो।
जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्कर्षमा प्रधानमन्त्रीको टोली पुग्यो। अन्ततः बिहीबारदेखि नै प्रधानमन्त्रीले रणनीति बदले। तत्काल गगनलाई पक्राउ गर्ने योजनामा ब्रेक लाग्यो। प्रचण्डले भनेजस्तै गगनलाई कसैले पक्राउ गर्न नसक्ने भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।