काठमाडौं- 'तपाईंहरु सबैले कुनै न कुनै बेला प्रेमी वा प्रेमिकालाई एक पटक धोका दिएकै हुनुपर्छ।'
_x000D_
_x000D_
लेखक रमेश सायनले यसो भन्दै गर्दा शनिबार मण्डला थिएटरमा खचाखच दर्शक/स्रोताबीच हाँसो गुन्जियो। प्रसंगको उठान गरिदिएका थिए, कार्यक्रमका सहजकर्ता कवि नवराज पराजुलीले। कार्यक्रम थियो, सायनकै निबन्धात्मक कृति 'छुटेका अनुहार' विमोचनको।
_x000D_
_x000D_
कुनै बेला सायन प्रेममा थिए। प्रेमिकाले एकदिन भनिछन्, 'तिमीले मलाई भगाएर लैजानुपर्छ। आँट गर्छौ?' सायनको शरीरबाट काँडा उम्रियो। मौन रहे। बिस्तारै टाढाटाढा हुँदै गए।
_x000D_
_x000D_
'प्रेमको मामलामा म कायर हुँ,' नवराजलाई उनले प्रस्टीकरण दिए, 'म अरु कसैलाई भगाउन सक्थेँ होला। नत्र किन ३४ वर्षसम्म बिहे नगरी बस्थेँ।'
_x000D_
_x000D_
जीवन बचाइको दौरानमा आफूले भोगेको पीडा र अभावलाई आफूले कतै पनि नढाँटी लेखेको उनको दाबी थियो। निजी आनन्दका लागि सत्य मात्रै लेख्छु भन्दै उनले थपे, 'म सत्य लेख्छु। यसकारण फिक्सन चाहिँ लेख्दिनँ।' नेपालका लेखकहरुले सत्य लेखे पनि 'मैले सत्य लेखेको हुँ' भन्न नसकैले तिनका किताब झुटो जस्तो लाग्ने गरेको उनले तर्क दिए।
_x000D_
_x000D_
'साँचो लेख्दा त झन् सुन्दर बनाउन अरु कला पनि मिसाउनुपर्ला। सुन्दरलाई छान्ने कि सत्यलाई?' नवराजले प्रश्न तेर्स्याए।
_x000D_
_x000D_
'सत्य। म सामान्य मान्छे हुँ। सामान्य मान्छेले सत्य बोल्न र लेख्न डराउनुपर्ने केही छैन। डर नभएकाले नै मैले सत्य लेखेको हुँ,' सायनले पटकपटक दोहोर्याइरहे।
_x000D_
_x000D_
कोरियामा मजदुरी गरेर फर्किएका सायनले त्यहाँ रहँदाको अनुभूति पनि पुस्तकमा समेटेका छन्। जहाँ ८ लाख कुखुराको सुली सोहोरेको दैनिकीदेखि कुकुर स्यहारेका अनुभूतिसम्म अटेका छन्। 'मलाई कोरियाले काम सिकायो। म काम गर्न सक्दो रैछु र ममा जाँगर रहेछ भन्ने मैले कोरिया गएपछि मात्रै थाहा पाएँ,' उनले गर्वसाथ सुनाए।
_x000D_
_x000D_
'पुस्तकमध्ये कुन निबन्धले बढी उचाइ लिन्छ होला?' भनी दर्शकदीर्घाबाट आएको प्रश्नमा भने उनले सटिक जवाफ दिए, 'मैले उचाइका लागि लेखको होइन। म जे छु, ठिक छु।'
_x000D_
_x000D_
कार्यक्रमको सुरुवातमा नवराजले सायनको निबन्ध 'फेल'को नाट्यात्मक वाचन गरेका थिए।
_x000D_
_x000D_
प्रकाशित/अप्रकाशित १९ थान निबन्ध समेटिएको पुस्तक लेखक पत्नी दीपा दाहालले विमोचन गरेकी थिइन्। पुस्तकलाई लिपि बुक्सले छापेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।