काठमाडौं –पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारले थप सुरक्षा माग गरेको छ।
राणाका छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै परिवारको सुरक्षामा थप ध्यान दिन आग्रह गरेका हुन्।
निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयका कारण परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भइरहेको उल्लेख छ।
पूर्वप्रधानन्यायाधीशका रूपमा राणाले न्यायपालिकाको नेतृत्व गर्दा गरेका निर्णय तथा विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारीका कारण आफूहरूमाथि थप असुरक्षा महसुस भएको निवेदनमा भनिएको छ।
राणाका छोराले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष आग्रह गरेका छन्। निवेदनमा परिवारको सुरक्षासम्बन्धी सम्पूर्ण विवरण सुरक्षा निकायलाई जानकारी रहेको पनि उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।