निरंकुशता, शक्ति र मैमत्त सत्तासामु
बन्दुकका नाल, हतियारधारी जत्थासामु
जब ती नवयुवा त कत्ति झुक्दै झुकेनन्
गोली थापे छातीमा, कतै भागेनन्, लुकेनन्।
म व्यर्थ किन झुकूँ, सामुन्नेका भ्रष्ट विभेदकारीसामु
प्रश्न गर्न किन चुकूँ, जवाफ दिनैपर्ने भ्रष्टाचारीसामु।
आफ्नोसँगै मेरो अधिकारका लागि कसैले ज्यानै दियो
रात ढलेर ढलेको थिएन ऊ, श्वास जम्मै एकाबिहानै दियो।
संविधान र ऐन-कानुनमा दर्ज न्याय र अधिकार माग्न
कति निदाएझैँ गर्ने, कति डराउने अझै, ढिला भो जाग्न।
बस्नुहुन्न अब एकपल अरू, अन्याय-कसैको अत्याचार सहेर
सहिद अमर भए देशका लागि, जिउँदै नमरौँ हामी लाचार भएर।
मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने
डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने
देशका लागि रगत दिने ती नवयुवा सहिदको आत्माले पोल्ने छ!
मैले सत्य मानी न्यायका लागि पुज्ने, मेरो परमात्माले गिजोल्ने छ!
एक मुट्ठी फाइदाका लागि, अब कोही शक्तिशाली भ्रष्टसामु झुक्दिनँ !
न्याय र सुशासनका लागि लड्छु निडर भई, सहुँला कष्ट तर झुक्दिनँ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।