काठमाडौं– दार्जिलिङको परिवेश। हरेक दशैंमा त्यहाँको नेपालीभाषी समुदायमा बेग्लै माहौल छाउँथ्यो। कारण थियो, नेपाली साहित्यका तीन हस्तीहरु लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम दशैंको बेला त्यहाँ आयोजना हुने साहित्य सम्मेलनको पाहुना बन्थे।
तीन–चार दिनसम्म चल्ने साहित्यिक गोष्ठी र भाषणले भाषा र साहित्यप्रेमीहरु चमत्कृत हुन्थे। यस्तै चमत्कृत हुनेमा तारानाथ शर्मा पनि थिए, जो उतिबेला दार्जिलिङ तथा खर्साङमा बसेर पढ्दै थिए। साहित्य सम्मेलनमा सहभागी हुने मौका उनी कसैगरी छाड्दैनथे।
*८६ वर्षमा हिँडिरहेका तारानाथ विगतका धेरै कुरा राम्ररी सम्झिन सक्दैनन्। तर, महाकविसँग भेटेको त्यो प्रसंग भने उनको दिमागमा अझै सुरक्षित छ।
त्यो बेला उनी खर्साङमा कक्षा १० मा पढ्दै थिए। कताकताबाट उनले दार्जिलिङमा लेखनाथ, देवकोटा र सम आएको थाहा पाए। क्रिश्चियन फादरहरुले चलाएको स्कुलबाट कार्यक्रममा निस्किन अनुमति पाउनु गाह्रै थियो। उनले एउटा जुक्ति निकाले, ‘झुटशास्त्र’ नै अपनाए।
‘गाउँबाट बिरामी भएर आएका एक बूढा मान्छेलाई डाक्टरकहाँ देखाउन लग्यो भनेर भन्दिनू है भनेर एउटा साथीलाई अह्राएँ’, ६५ वर्ष अगाडिको घटना सम्झिँदै उनी पुलकित भए। लेखकहरुसँग भेट्ने हुटहुटी कस्तो भने, उनी बिहान ५ बजे नै खर्साङबाट ट्रेन चढेर दार्जिलिङ हान्निए।
एकाबिहानै दार्जिलिङ टेकेका उनले लेखकहरु बसेको घर पत्ता लगाए। त्यहाँ पुग्दा घर सुनसान थियो। यत्तिका ठूला लेखक आउँदा पनि चरोमुसो छैन ! कोही आएका होइनन् कि क्या हो भनेर निराश पनि भए।
तर, घरको छेउमा पुग्दा माथिल्लो तलामा मान्छेहरुको कल्याङमल्याङ सुनेपछि भने बल्ल आस पलायो। यत्तिकैमा माथिबाट एउटा मान्छे भर्याङमा बङ्बङ् आवाज पार्दै ओर्लियो।
उनी थिए ‘भीम बूढा’ भनेर चिनिने दार्जिलिङको गभर्नेन्ट हाइस्कुलको हेडमास्टर, सूर्यविक्रम ज्ञवाली।
उनी केटाकेटीलाई उति मन नपराउने, कराइहाल्ने अलि कडा मिजासका थिए। ‘त्यो मान्छेलाई त्यहाँ देख्ने बित्तिकै मलाई बोर लाग्यो’, नाक खुम्च्याउँदै तारानाथ सम्झिन्छन्।
नभन्दै सूर्यविक्रम कड्किहाले, ‘ओइ, एकाबिहानै कहाँ हिँडेको हँ?’
लल्याकलुलुक परेर तारानाथ बोले, ‘यहाँ कविशिरोमणि र महाकविहरु पाल्नुभएको छ रे। महाकविको दर्शन गर्न आएको।’
‘धत्, हुँदैन अहिले! हाम्रो प्रोग्राम छ, सूर्योदय हेर्न टाइगर हिल जाने। तिमी जाऊ।’
दार्जिलिङमा हुने साहित्यिक कार्यक्रममा प्रायः उनी नै सभापति हुने भएकाले उनको अदब बेग्लै थियो।
तारानाथ त्यो दिन सम्झिन्छन्, ‘भीम बूढा त्यसरी जंगिरहँदा माथिबाट देउता जस्तै सललल बग्दै एउटा मान्छे आए। उनले मधुरो आवाजमा सोधे– कसले कसलाई खोजेको?’
उनले प्रत्युत्तर दिए, ‘मैले महाकविलाई खोजेको। उहाँको दर्शन गर्न आएको।’
अगाडि थिए महाकवि देवकोटा। ‘आहा बाबू’ भन्दै सामुन्नेमा आए। तारानाथले ‘दर्शन’ शब्द प्रयोग गरेकाले महाकविले ठम्याइहाले, ‘तपाईं त दार्जिलिङको होइन।’
उनले आफू नेपालकै भएको भन्दै परिचय दिएपछि महाकविले गम्लंग अंकमाल गरे। तारानाथले खल्तीमा सानो डायरी बोकेका थिए। त्यसमा केही लेख्दिऊँ भनेर महाकविले सोधे।
‘मैले त खोजेकै त्यही थियो’, तारानाथ दंग परे।
सूर्यविक्रम ‘देवकोटाजी के गरिरहनुहुन्छ तपाईं ? अरु सबै तयार भइसके, छिटो गर्नुस्’ भनेर तातो लगाउँदै थिए।
महाकवि भने माथिबाट दाँत माझ्न झरेका थिए। उनको हातमा ब्रस थियो। भुइँमा लोटा राखेका थिए। तारानाथले लोटाको पानी खन्याइदिएर मुख कुल्ला गराए।
त्यसपछि महाकविले उनको डायरीमा लेखिदिए–
‘कविता सविता मेरी लविता लविला भनेँ
त्यसैको प्रेमले जल्दै आगो–आँसु दुवै बनेँ
लक्ष्मीप्रसाद देवकोटा, १४ मे १९५२’
यति लेखेर देवकोटाले सुझाव पनि दिए, ‘बाबू पनि पत्रपत्रिकामा लेख्नुहुँदो रहेछ। तर, कविता चाहिँ नलेख्नू है। यसले भित्रभित्रै पोल्छ। मलाई डढाइसक्यो। मलाई हेर्नुस् बहुला बनाएर राँची पठाए। ६ महिनासम्म म बहुला भएँ।’
साहित्य सम्मेलनका क्रममा देवकोटाले कलेजमा भाषण गरेका थिए।
‘बाफ रे बाफ ! हाम्रा महाकविले अंग्रेजीमा बोल्दा कलकत्ताबाट आएका जम्मै बंगाली र प्रोफेसरहरु कति राम्रो बोलेको भनेर छक्क परेका थिए’, तारानाथ खितखिताउँदै सुनाउँछन्।
एकसुरका महाकवि, देउता देवकोटा
तारानाथले पछि दार्जिलिङमै सेन्ट जोसेफ कलेजमा पढ्न थालेपछि त हरेक वर्षको साहित्यिक कार्यक्रम पानी–पँधेरो नै भयो। त्यस क्रममा उनी देवकोटाको भाषण कलाबाट मोहित भएका थिए।
एक पटक महाकवि दार्जिलिङको चोक–बजारमा भाषण गरिरहेका थिए। कार्यक्रमका सभापति सूर्यविक्रम नै थिए। बोल्दै गरेका देवकोटाको मुखमा उनले रुमालले छोपिदिए।
‘हामी सबै जना छक्क पर्यौं। के गरेको यो ? महाकविले के गल्ती गर्नुभयो र यस्तो गरेको ?’ तारानाथ त्यो दिनमा फर्किए।
यत्तिकैमा सूर्यविक्रमले माइक खोसेर बोले, ‘यो दार्जिलिङको मौसमले हाम्रो महाकविलाई सहन सकेन। हामी सबै यति माया र श्रद्धा गर्छौं उहाँलाई, तर चिसोले उहाँको नाक बग्यो। त्यही भएर मैले पुछिदिएको।’
तर, त्यसबारे देवकोटालाई पत्तै थिएन। कुनै काममा लाग्दा एकसुरमा लाग्थे। रुमाल झिकिसकेपछि तुरुन्तै उनी बोल्न थाले, ‘रोम वाज बर्निङ एन्ड निरो वाज फिड्लिङ।’
तारानाथ त्यसबेलाको सन्दर्भ खुलाउँछन्, ‘नेपालमा कठोर शासनका कारण जनताले दुःख पाइरहेका छन्, तर राणाहरु चाहिँ मोज गरिरहेका छन् भनेर महाकविले व्याख्या गरे।’
महाकविको एकसुरा बानी इलामको करफोकको कार्यक्रमको बेला पनि देखिएको तारानाथ सम्झिन्छन्।
महाकवि खाना खान बसेका थिए। थालमा खाना सकिइसकेको थियो। तर, उनी हातमा गाँस लिए जस्तै एकोहोरो मुखमा लगिरहेका थिए।
अब जाऊँ चुठ्न भनेपछि मात्र छक्क परेर महाकवि उठेका थिए।
भिडियो
महाकविसँग जोडिएका अनेकथरी प्रसंग सुन्ने र पढ्ने नयाँ पुस्तालाई हरेक कुरा किंवदन्ती जस्तो लाग्छ। कतिपय घटनाको साक्षी नै रहेका तारानाथ नै भन्छन्, ‘म आफैंलाई त ती कुरा किंवदन्ती लाग्छ।’
देवकोटाको रचनाले पारेको प्रभावबारे सोध्दा उनी महाकविलाई देउतासरह नै मान्ने बताउँछन्। देवकोटासहित लेखनाथ र समलाई उनी त्रिदेव मान्छन्। ‘उहाँहरुलाई नेपाली साहित्यका त्रिदेव भन्ने मै हो। साहित्यमा लाग्न उहाँहरुको प्रेरणा छ मलाई। उहाँहरुका कृतिहरु साह्रै मन पर्छ’, स्रष्टाभित्रको पाठक तारानाथ बोल्छन्।
काठमाडौं बस्न थालेपछि उनको लेखनाथ र समको घरमै आउजाउ हुन थाल्यो। एमए गरेपछि उनले समसँग नियमित सम्पर्कमा रहेर समालोचनाको पुस्तक ‘सम र समका कृति’ नै लेखे। तर, देवकोटालाई त्यसरी घरमै भेट्ने मेसो जुरेन।
(*नेपाल लाइभ अर्काइभबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।