काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाकै कर्मचारी संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।
आइतबार उनीहरुले मेयर शाहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका हुन् ।
चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका हुन्।
प्रशासकीय अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् । कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।