काठमाडौं– यु १९ सिरिजमा अफगानिस्तानले नेपाललाई जितको लागि १ सय ६९ रनको लक्ष्य दिएको छ।
मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनाएको हो।
अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए। उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए। नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए।
नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए। साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो। अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिजमा १-० को अग्रता रहेको छ।
यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।
नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन्। एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ। छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।