रुकुम पश्चिम - बाँफिकोट गाउँपालिका–८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आज साँझ रुकुम खलंगाबाट बाँफिकोट गाउँपालिका–८ दुलीतर्फ जाँदै गरेको लु.१ ज २१६० नम्बरको यात्रुवाहक जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए। प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो।
उपचारका क्रममा जीप चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ निवासी अन्दाजी २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–८ दुली निवासी ३१ वर्षीया निर्मला केसी, उनका दुई वर्षीय छोरा दिनेश केसी, ३२ वर्षीया मनिषा बस्नेत र ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।
त्यस्तै, मुसिकोट नगरपालिका–१० निवासी १८ वर्षीया जेनिशा वलीको अवस्था मध्यम रहेको छ।
जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।