धादिङ - गजुरी गाउँपालिकामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–८, कटुन्जे डुङ्गानागाउँका ६५ वर्षीय हरि बहादुर डुङ्गानाको हत्या गरेको आरोपमा सोही स्थानका ३८ वर्षीय सूर्यबहादुर घिडेल पक्राउ परेका हुन्।
मंसिर १२ गते डुङ्गानाको घरको कोठामा शंकास्पद अवस्थामा मृत शरीर फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र दाहिने पिठ्युँको नाडीको हड्डी भाँचिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल तथा शवको प्रकृति, बरामद भएका सबुत प्रमाण, परिस्थितिजन्य प्रमाण र साक्षीबाट प्राप्त व्यवहारको सूक्ष्म अनुसन्धान गर्दा मृतकका छिमेकी सूर्यबहादुर घिडेलले मंसिर ११ गते राति हरि बहादुर डुङ्गानालाई कुटपिट गरी कर्तव्य गरी मारेको खुलेको प्रहरीको भनाइ छ। त्यसपछि उनलाई तत्काल घटनास्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको शवको घटनास्थल तथा लासजाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ।
पक्राउ परेका घिडेलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त लिई धादिङ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका घिडेलको यसअघि पनि सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको अभिलेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।