काठमाडौं– पाकिस्तानले आफ्ना सैनिकलाई साउदी अरबमा तैनाथ गर्ने भएको छ । साउदी अरब प्रस्थान गर्न लागेका पाकिस्तानी सैनिकका लागि शनिबार बिदाइ समारोह आयोजना गरिएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार उक्त समारोहमा पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
समारोहमा पाकिस्तानका लागि साउदी अरबका राजदूत डा. राजेह अल-तमीमी अल-बगामी, पाकिस्तानी सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल उमर अहमद बुखारीलगायत उच्च सैन्य अधिकारीहरूको उपस्थिति थियो ।
आईएसपीआरले साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र रक्षा सहकार्यको हिस्सा भएको जनाएको छ ।
विभागका अनुसार पाकिस्तानी सैनिकले साउदी अरबको भूमिमा दुवै देशबीचको आपसी सहमति तथा विद्यमान रक्षा सहकार्यको ढाँचाअनुसार तोकिएका जिम्मेवारी निर्वाह गर्नेछन् ।
यस तैनाथीले साउदी अरबको सुरक्षा क्षमता थप मजबुत बनाउन सहयोग पुग्ने पाकिस्तानको भनाइ छ । साथै साउदी अरबको सार्वभौमिकता, भौगोलिक अखण्डता र सुरक्षाको रक्षा गर्ने प्रतिबद्धता पनि पाकिस्तानले दोहोर्याएको छ ।
आईएसपीआरले इस्लामका दुई पवित्र स्थल (हरमैन शरीफैन) को पवित्रता र साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो प्रतिबद्धतामा कायम रहेको जनाएको छ ।
यद्यपि तैनाथ हुने सैनिकको संख्या, परिचालनको अवधि र उनीहरूले निर्वाह गर्ने विशिष्ट सैन्य जिम्मेवारीबारे सार्वजनिक वक्तव्यमा विस्तृत विवरण दिइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।