काठमाडौं– इरानको मुद्रा बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अनौपचारिक बजारमा एक अमेरिकी डलरको मूल्य तीन लाख तोमान नाघेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
पछिल्ला केही दिनयता इरानमा विदेशी मुद्राको मूल्य तीव्र गतिमा बढिरहेको छ । गत आइतबारसम्म एक डलरको मूल्य करिब दुई लाख ६८ हजार तोमान रहेकोमा केही दिनमै तीन लाख तोमान पुगेको हो ।
डलरको मूल्यमा निरन्तर वृद्धि भइरहेका बेला इरानको केन्द्रीय बैंकका प्रमुख अब्दुलनासिर हिम्मतीले भने मुद्रा बजारमा हस्तक्षेप गरेर विनिमय दर स्थिर राख्न बैंक तयार रहेको बताएका छन् ।
यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसै वर्ष गर्मीयाममा इरानलाई आर्थिक रूपमा अलग्याउने योजना घोषणा गर्दै डलरको मूल्य ३० लाख रियालसम्म पुग्न सक्ने बताएका थिए ।
इरानमा दैनिक कारोबार तथा कुराकानीमा आधिकारिक मुद्रा रियालको सट्टा तोमान प्रयोग गर्ने चलन छ । एक तोमान बराबर १० रियाल हुन्छ । त्यसैले तीन लाख तोमान बराबर ३० लाख रियाल हुन्छ ।
डलरको मूल्यमा भएको यो वृद्धिले इरानको मुद्रा बजारमा देखिएको दबाबलाई थप उजागर गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।