काठमाडौं– भोजपुरी फिल्मका चर्चित अभिनेता तथा विधान परिषद् सदस्य (एमएलसी) पवन सिंहले आफ्नो परिवार र खानदानसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत आफूले परिवारका सदस्यहरूसँगको सम्बन्ध तोडेको जानकारी दिएका हुन् । लामो समयदेखि सहनुपरेको पारिवारिक परिस्थितिका कारण आफू यस्तो निर्णय लिन बाध्य भएको उनको भनाइ छ ।
पवन सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहनशीलताको सीमा पार भएपछि अत्यन्त दुःखी भएर यो पोस्ट गर्दैछु । भोजपुरी समाजका सबैसँग हात जोडेर माफी माग्दै आज र अहिलेदेखि मेरो आफ्नो पूरै परिवार र खानदानसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँछु ।’
यद्यपि उनले आफूलाई जन्म दिने आमा र जेठा दाइ रानु सिंहसँग भने सम्बन्ध कायम रहने स्पष्ट पारेका छन् । उनीहरूका लागि आफू जीवनभर समर्पित रहने पनि उनले बताएका छन् ।
‘जसले मलाई जन्म दिनुभयो, मेरी आमा र मेरो सबैभन्दा ठूलो दाइ रानु सिंहका लागि म जीवित रहुन्जेल मेरो ज्यान हाजिर छ,’ उनले लेखेका छन् ।
पवन सिंहले पारिवारिक सम्बन्ध तोड्नुको विस्तृत कारण भने सार्वजनिक गरेका छैनन् । भोजपुरी फिल्म क्षेत्रमा लोकप्रिय रहेका उनी पछिल्लो समय राजनीतिक गतिविधिमा पनि सक्रिय छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।